
तुलसी पण्डित
आमा आज संसारकै सुन्दर ठाउँ गोल्डकोष्ट हेर्न जाने है ।
“हुन्छ छोरी मलाई नयाँ नयाँ ठाउँ हेर्न मन लाग्छ ।”
छोरीले आमालाई सुन्दर ठाउँ देखाउन भन्दै गाडी अगाडि बढाई रहिन् । गाडी अगाडि बढ्ने क्रममा आमाले जिब्रो टोक्नु भयो।
“के भो आमा ?”
“ओहो यहाँको विकास देख्दा त म जिल्ल परे छोरी ।”
“हेर छोरी कति चाक्ला बाटोहरू । गाडी सललल बगेको छ । कतै बिग्रे भत्केको छैन ।”
“आमा यो त यहाँको लागि सामान्य कुरा हो । यहाँ कति ठूला ठूला काम भएका छन् ।”
“छोरी मलाई यहाँको यही बाटो बनाएको देख्दा नै आश्चर्य लागेको छ । एकतर्फी जाने बाटो फोर लेनको छ । फर्कने बाटो केही जग्गा छोडेर फेरि फोर लेनको छ । कतै ट्राफिक प्रहरी देखिदैन । गाडीहरू साइड बत्तीको इशारामा अगाडि बढी रहेछन् । सबै कम्पुटरबाट सञ्चालित छ ।”
“आमा अझ नियालेर हेर्नु है ?”
“छोरी फेरि यही बाटो माथि कति पुल हुन् । माकुराको जालो जस्तो छ बाटोहरू । सबै पूलबाट गाडि वारपार गरेको देखिन्छ ।”
“आमा विकास त उहाँ पनि छ नि ?”
“केको विकास हुनु छोरी तीन किलोमिटर बाटो सात वर्षमा बन्दैन। राजधानीमा त यस्तो छ भने अन्त कस्तो होला ?”
“त्यो सात वर्षमा बाटो न बनेको जिम्मा कसले लिन्छ त आमा ?”
“न राम्रो कामको जिम्मा कसैले लिदैन । नौ दश वर्षमा कुनै काम भैहाल्यो र उद्घाटन गर्ने अवसर पायो भने त्यो प्रधान मन्त्री भनाउँदो भन्छ यो मैले बनाएको हो । अनि त्यसका चाटुकारहरू पनि त्यस्तै आवाज निकाल्छन् ।”
“देश विकास गर्ने तरिका गजव रहेछ है आमा ।”
“छोरी यहाँ यति ठूलठूला काम हुँदा यहाँका ठूला व्यक्तिले पनि त्यसै भन्छन् कि ?”
“जति ठूलो विकास भए पनि यहाँका ठूलो व्यक्तित्वहरूले यो विकास सबै जनताले नै बनाएका हुन् भन्छन् आमा ।”





