
त्रिलोचन ढकाल
”कसैले बुझ्दैनन् ।“ हरि गुनगुनाउँदै कार्यालयमा प्रवेश गरे।
”आज पनि उस्तै अबेला ।“ प्रधानाध्यापकको निधार खुम्चियो ।
”सरि सर ! ढिला भयो । भोलिदेखि यस्तो हुँदैन ।“ हरि कक्षा कोठातिर जानु थियो ।
हरि सामुदायिक विद्यालयका गणित शिक्षक थिए । उनले माध्यमिक स्तरमा पढाउँथे गणित ।
”अत्यन्त ठुलो समस्यामा छु सर म ।“ अलि बढी आलोचना भएका समयमा भन्ने गर्थे हरिले ।
उनकै विषयमा एस् इ ई परीक्षामा तीनचौथाई विद्यार्थी सफल हुन सकेका थिएनन्। यस सम्बन्धमा उनले पीडा महशुस भए जस्तो गर्दैनथे ।
“मलाई गार्डमा पठाएको भए परीक्षार्थीलाई सङ्केत गरेर भए पनि बढी पास गराउने थिएँ । कुरा मिलाउन जान्नु छैन ।” हरिको कुटिल मुस्कान पोखियो ।
“यो वर्ष सरकारले अप्ठ्यारो बनाएको थियो ।” प्रधानाध्यापकले लाचारी व्यक्त गरे ।
“विद्यार्थी सफल नभएकै आधारमा कुरा गर्ने हो भने त हजुरको अङ्ग्रेजीमा असफल हुनेको सङ्ख्या पनि कम छैन ।” हरिले ओठे जबाफ दिए ।
“भै गो ! भै गो !! यो कुरा छोडौँ ।” प्रधानाध्यपकले कुराको गुदी बदल्न खोजे ।
यो वार्तालाप सुनिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने “एक वर्ष स्कुलमा पढिसकेपछि विद्यार्थी परीक्षामा उत्तीर्ण हुनै पर्छ । मैले जानेको यही हो ।”
प्रधानाध्यापकले हरिलाई भने “तपाइँले सधैँ समस्यामा भएको कुरा गर्नु हुन्छ। केहो समस्या ?”
हरिबाट हार्दिक शैलीमा समस्या प्रस्तुत भयो “मैले दिन दिनै बिहान दश बजे छोरालाई बोर्डिङ् स्कुलमा पुर्याउनु पर्छ सर !”





