“सम्झना”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

“रोल नम्बर उनन्तीस,
यस मिस,
रोल नम्बर तीस
यस मिस
रोल नम्बर एकतीस
यस मिस,
“ए सम्झना! तिमी यता आउ, अझै पनि तिमी त्यही शुक्रबारकै ड्रेसमा हो ? मैले अस्ति के भनेको थिएँ ? लुगा धोएर सफा भएर आउन भनेको होइन ? भन्दै नजिकै रहेको लठ्ठी उठाएर हान्न तम्सिइन।
“माफ गर्नु मिस”भन्दै उभिएर थर थर काम्दै सम्झना बोलिन।
“अस्ति पनि त्यसै भनेर छाडी दिएको , आज पनि उही अवस्था? कपाल कोरेको पनि छैन, नुहाएको जस्तो पनि देखिन्न, ड्रेस पनि धोइएको छैन, यस्तो पहिरनले विद्यालयको इज्जत, मान,प्रतिष्ठामा आँच आउँछ,भोलि सबैले यस्तै गर्न थाल्छन् ,तिमी कक्षा कोठामा नबस बाहिर बस भन्दै कक्षाबाट निकालिन्। सम्झना रुन थालिन्।
“सम्झनाको घरको अवस्था अहिले ठिक छैन मिस, त्यसो भएर यस्तो भएको हो, यसरी बाहिर निकाल्नु हुँदैन “कक्षाका अर्का विद्यार्थी सम्झनालाई बाहिर निकालेको देखेर जुरुक्क उठदै जोसिएर रिसाउँदै बोले।
“तिमीलाई सम्झनाको त्यस्तो चिन्ता रहेछ, तिमीले नुहाई दिने, ड्रेस धोइदिने गरेर ल्याउनु पर्थ्यो नी त, यस्तो च्यातिएको माटै माटो भएको ड्रेस लाएर स्कूल आउने हो ? कि म गलत बोल्दैछु ?” मिस पनि निकै रिसाउँदै झर्किन।
“तपाईँ गलत बोल्दै हुनुहुन्छ मिस, मैले सम्झनाको बारेमा अस्ति पनि हजुरलाई भनेको थिएँ र आज पनि भन्दै छु,बच्चाहरूलाई यसरी मानसिक तनाव दिनु हुँदैन। मायाँ गरेर,प्रेम पूर्वक सम्झाउने,पढाउने गर्नु पर्छ, थर्काउने, कक्षा बाट निकाली दिने गर्दा उनीहरूमा आत्मविश्वास घटेर हिन भावना बढ्दै विद्यालय प्रति अनास्था बढ्दै जान्छ। बाबु नानीहरूलाई विद्यालयले पढ्ने वातावरण बनाई दिनु पर्छ, सम्झनाको ममी बितेको एक महिना पनि पुगेको छैन। ममी बिते पछि सम्झनाका बाबु पिरले चौबीस घण्टा रक्सिले मातेर डुल्न थालेका छन्, घरको अवस्था ठिक छैन, बरु सम्झना भोकै हुन सक्छिन्, क्यान्टिनमा लगेर केही खुवाउनु होला मिस” भन्दै प्रधानाध्यापक बाहिर निस्के।
“मलाई माफ गर्नु होला सर”भन्दै मिसले हात जोडिन।