
डा. छायादत्त न्यौपाने
प्रिय बालसाथीहरू!
एउटा सल्लाह गर्न मन लाग्यो। हामी , हामी सल्लाह गरेर सही बाटाे हिँडौँ र देउरालीमा पुगौँ न, है ! उज्यालो भविष्यमा रमाउनु छ हामी।
बाआमाकाे भविष्य छाेराछाेरी हुन्। छाेराछाेरी असल हुनु बाआमाकाे जीवन सुखी हुनु हाे। सन्तान असल हुँदा बाआमा रमाउनुहुन्छ। बाआमाकाे सल्लाह अनुसार पढ्ने लेख्ने काम गर्ने छाेराछाेरी असल हुन् । असल छाेराछाेरी बाआमा र गुरुकाे सल्लाह मानेर काम गर्छन्।
अचेल छाेराछाेरी प्रविधिमैत्री भएका छन् । बाआमाले छाेराछाेरीलाई प्रविधिमैत्री बन्न सल्लाह दिई सहयोग पुर्याउनु राम्रो हुन्छ । बाआमा छाेराछाेरी दुवै सल्लाह र सहमतिमा अघि बढेकाे राम्रो हाे नि है !
हिजाेअस्ति आजजस्ताे प्रविधिको सुविधा थिएन। पढाइमा हामी आफैले मिहिनेत गरेर सफल हुनुपर्थ्याे । अहिले प्रविधिले पढाइ लेखाइ गरेर खुसी हुन, खेतीपाती गरेर धेरै उत्पादन बढाउने, उद्योग व्यवसाय गरेर धनी हुन प्रविधिले सघाउँदै छ । हामीले रुचि राखेर सक्रिय भए सफलता पाइहालिन्छ।
हाे, हामीले प्रविधिको सहयोग लिनुपर्छ तर प्रविधिको वश पर्नुहुँदैन । प्रविधिलाई आफ्नो वशमा राख्नुपर्छ । हामीले हाम्रो संस्कार संस्कृति जाेगिने गरी हाे प्रविधि चलाउने । आफन्तसँग बाेलचाल नगर्ने सरसल्लाह नगर्ने एक्लै बस्न खाेज्ने बानी गर्नुहुँदैन । परम्परागत चाडपर्व , चाडपर्वले सिकाउने संस्कृतिका विषय, खेलकुद र खेलकुदका सामग्री बिर्सियाे भने हाम्रो परिचय पनि बिर्सिन्छ, मौलिकता हराउँछ । निजी परिचय नभए अरुले हेप्ने मौका पाउँछन्।
हाे नि प्रविधिबाट सूचनाहरू लिने ज्ञानगुनका कुरा थाहा पाउने गर्नु ठिक हाे तर जतिखेर पनि माेबाइलमा खेलिरहनु, कम्प्युटरमा झुम्मिनु राम्रो हुन्न। यसले हामीलाई अल्छी बनाउँछ। गलत बाटो देखाउँछ।
हामी केटाकेटी हुँदा घाँसदाउरा, खेतीपाती गरेर पढ्नुपर्ने थियाे। कापीकलम ,किताबको समस्या थियाे। अहिले त कापीकलम ,किताब सँगसँगै माेबाइलकाे प्रयोग गरे पनि पढ्ने सामग्री पाइन्छ। के राम्रो के नराम्रो भनेर चिन्न सके राम्रो हुन्छ । नराम्रो बाटाे लाग्नु भएन। नराम्रो बाटोतिर हिँडियाे भने असजिलोतिर गइन्छ , अँध्यारोमा परिन्छ। असजिलो अँध्यारोबाट जाेगिन त राम्रो राम्रोतिर अघि बढ्नु जरुरी हुन्छ। सही बाटाे चिनेर हिँडियाे भने आफू सुखी भइन्छ। हामी सुखी भइयाे भने बाआमा खुसी हुनुहुन्छ। छाेराछाेरीकाे काम देखेर बाआमा खुसी हुनुभाे भने सबैतिर उज्यालो हुन्छ। उज्यालो जीवन रमाइलो हुन्छ।





