
मचिन्द्र खत्री
धरान १६
यी रिठ्ठा अमला फुलेर वनमा नौलो छ पाखो पनि
पाङ्ग्राका लहरा झुले अझ यतै जाग्दोछ चासो अनि।
सल्लेरी वनमा पुगेछ मन यो सोचेर नानाथरी
जन्मेको धरती छ आज किन हो छाती र आँखाभरि।।
नास्पाती सरिफा अनार फल ती फल्छन् र पाक्छन् यतै
पक्षीका गणका बथान दिलले डुल्छन् र चाख्छन् यतै।
खाए काफल छन् कछाड वनमा पाकेर राता कतै
हावा ग्रीष्मसँगै बहन्छ वनमा मार्दै सुसेली यतै।।
बेँसी लेक पहाड पर्वत मिली नेपाल भूस्वर्गको
सेता उच्च हिमाल उत्तर कतै प्यारो तराई छ जो।
वर्षा बादलको छ मेल गतिलो बर्सिन्छ पानी पनि
फल्छन् धान मकै अनाज मसुरो कोदो जुनेलो अनि।।
यस्तो सुन्दर देश आज किन यो रोयो नराम्रोगरी
कित्ता काट भयो चिरेर जब यो भेजो लगाएसरी।
मान्छे आज फुटे समाज भरको यो एकता नासियो
नेपाली पनको र स्वच्छ मनको आस्था सबै मासियो।।
दु:खी छन् जनता यहाँ दिनदिनै नेपाल आमा रुने
जो छन् ती जन राजकाज घरमा वैरी तिनै छन् हुने।
यस्तो देश कुरूप पार्न यिनको जो भूमिका देखियो
यो सानो कविता बिहान पखमा गम्दै यही लेखियो।।
छैनन् नीति बनाउने जन यता दह्रा विवेकी जन
आफ्नो स्वार्थ सदाछ नीति यिनको जोड्ने मिलेमा धन।
हड्डीमा झगडा छिनाझपटको बाझो छ ङुर्ङुर् गरी
योद्धा छन् यसका महारथ बडा संग्राममा हर्घडी।।
चिन्ता मात्र सदा छ एक यिनको जाला कि सत्ता कतै
आफ्नो भाग लुछी परत्र जनले खाला कि भत्ता कतै।
नाड्गो नाच यिनै अनेकथरिका नाँच्छन् नपाए धन
पाएमा छिनमै खुशी मिलनले यी शान्त पार्छन् मन।।





