“हाम्रो स्कुल”


टिकाराम शर्मा पौडेल

हाम्रो स्कुल हामीलाई लाग्छ सारै जाती।
सबै कुरा पाउँछौँ हामी स्कुलैमा साथी ।।
घाम लाग्छ न्यानो हुन्छ झ्यालिन्चाले गाउँछ।
पानी पर्दा कस्तो मज्जा भ्यागुता कराउँछ ।।

आहा! कति मिलेको छ कक्षाकोठा हाम्रो।
सबै जना मिलीवरी पार्छौं यसलाई राम्रो ।।
खेल्दा खेल्दै पढी लेखी सरर उतार्छौं।
धर्का कोरी रङ्ग भरी सचित्र सिँगार्छौं ।।

शिक्षादीक्षा प्रकृतिमा सबैतिर हुन्छन्।
देखे जाने बुझेपछि नयाँ ज्ञान दिन्छन् ।।
सोधखोज गर्छौं हामी नौलो ढोका खुल्छ।
त्यसैबाट चेतनाको दिव्य मणि मिल्छ ।।

हाम्रा गुरु गुरुआमा सारै मन पर्ने।
उत्साह र प्रेरणाको ज्योति सधैँ छर्ने ।।
हाम्रो शक्ति चिनाएर हाम्रै कुरा गर्ने।
सम्भावना चुनी चुनी रङ्गरूप भर्ने ।।

हामीलाई प्यारो लाग्छ हाम्रै विद्यालय।
साना ठुला आफन्त झैँ छैन कुनै भय ।।
हाम्रो साझा घर हो यो पार्छौं झिलिमिली।
सबैसित मित्रताको मधुरस घोली ।।

ज्ञानगुन बुद्धि हाम्रो फक्रिएको हेर्दा।
यो देशको भविष्य नै सुध्रिएको देख्दा ।।
बाबुआमा दाजुभाइ हाम्रै कुरा गर्छन्।
स्कुलको गतिविधि देखी दङ्ग पर्छन् ।।

यस्तो राम्रो शिक्षा पाई हामी अघि बढ्छौँ।
यो देशलाई उन्नतिको शिखरमा लग्छौँ ।।
ज्ञान सिप स्वाभिमान आफ्नो साथ लिन्छौँ।
हाम्रो झन्डा संसारमा फररर पार्छौं ।।