(टोपी दिवस २०८२ को सन्दर्भमा)

लक्ष्मी रिजाल
चोकमा राष्ट्रिय टोपी दिवसको उल्लासको ब्यानरमुनि गर्वले शिर ठाडो पारेर उभिँदा मित्रले व्यङ्ग्यको वाण प्रहार गर्यो, “तँ अझै कसको टोपीको ओत लागेर उभिएको छस् हँ ?”
मैले अल्मलिँदै निधारको ढाका टोपी छामेँ र भनेँ, “टोपी त टोपी नै हो नि मित्र, यसमा कसको नाम लेखिएको हुन्छ र?”
उसले दार्शनिक मुद्रामा फिस्स हाँस्दै भन्यो, “हिजो खरायो, बाघ र हतौडाको टोपी भिरेर हिँड्थ्यौ, आज नयाँ रङ्गको टोपीमा ठाँटिएका छौ । रङ्ग फेरियो, ढङ्ग फेरिएन भने के अर्थ ?”
त्यत्तिकैमा भीडमा कोलाहल मच्चियो । कसैले ‘लौरो’को साहसको गाथा गाए, कसैले ‘चिम’को उज्यालोको वकालत गरे त कसैले ‘घण्टी’माथि मात्र किन वज्रपात भन्दै आक्रोश पोखे ।
छेउमै बसेका एक वृद्धले आफ्नो झुत्रो र खुइलिएको टोपीलाई प्रेमपूर्वक मिलाउँदै सुस्केरा हाले, “बाबु, टाउको बाहिरको टोपी फेर्न त एउटा क्षण र केही पैसा भए पुग्छ, तर यो टाउकोभित्रको डर र दासताको मानसिकता फेर्न जुगौँ लाग्दो रहेछ ।”बृद्धका शब्दले म स्तब्ध भएँ । उत्सवको माहोलमा सबैका शिर त ढाकिएका थिए, तर ती भित्रका प्रश्नहरू भने नाङ्गै सडकमा नाचिरहेका थिए । मैले आफ्नै मनलाई सोधेँ- “टोपीको रङ्ग र नाम त जसको भए पनि होला, तर यो विलासी ढाँचाका लागि बगेको रगत र पसिनाको मूल्य आखिर कसले चुकाउँदैछ ?”





