बास


कल्पना मरासिनी
ललितपुर

“साँच्चै हामीहरू त कति भाग्यमानी रहेछौँ  धन्न आजसम्म यति राम्रो बाँसघारी र अग्ला रुखहरू भएको बासस्थान पाइरहेका छौँ ।”
साँझपख चरिचरनबाट थाकेर भर्खरै मात्र बास बस्न आइपुगेका कागहरू मध्येको जेठो कागले भन्यो।
“हो नि ! आज पल्लो डाँडामा भेटेका अरू चरीहरूले भनेको अनुसार त उनीहरूको बसाइ त्यति सुरक्षित र सुविधाजनक छैन रे।” समूहमा अलि खिनौरो जस्तो देखिने अन्तरेले भन्यो।
चुपचाप गजधुम्म परेर बसिरहेकी अधवैंसे कागिनीले भनी, “अब सदाझैँ यसपालि पनि हामीले यिनै गुँडमा बचेराहरू राम्रोसँग हुर्काउन पाउने भयौँ, हगि ! ” उत्तरमा सबैले एकै स्वरमा सहमति सूचक टाउको हल्लाए।
यसैबिच एउटा माउ कागिनीले अतालिँदै भनी, “लौन ! छुने र मुने त अझै आइपुगेका रहेनछन्, दिनभरि त सँगै थिए। यिनैकता भुलेछन् कुन्नी !”
जवाफमा भाले कागले भन्यो, “तिमी चिन्ता नलेऊ । आउँदै होलान् । उड्ने रहर छ । नयाँ ठाउँतिर घुमफिर गर्दै होलान् नि !”
यत्तिकैमा छुनु र मुनु बतासिँदै आइपुगे । आफू ढिला हुनुको कारण बताउँदै उनीहरू दुबैले एकै स्वरमा आत्तिँदै सुनाए, “हामीले आफ्नै कानले सुनेको, भोलि नै पल्ला गाउँका मानिसहरूले यही हामी बसिरहेको ठाउँमा डोजर लगाएर प्लटिङ गर्ने रे ।”