हरियो बगैँचा


रम्भा पौडेल
चन्द्रागिरि —७ काठमाण्डौ

“फेरी के ल्याउनुभो ?” बाबाले बिरुवा भुईमा राख्न नपाउँदै आमाको प्रश्न अगाडि आइपुग्यो ।“ के ल्याउनु नि ?”
“सुन्तलाको बिरुवा ल्याएको । यत्रो ठूलो बगैँचा खाली छ । सुन्तला भएपनि लगाउँ न । राम्ररी मलजल गरी लगायो भने त यसले राम्रो आम्दानी दिन्छ । त्यति मात्र नभएर वातावरण पनि स्वच्छ र हराभरा बन्दछ । अब जागिर पनि छुटिहाल्यो के गरि बस्ने त ?” बाले उत्तर दिनु भो ।
आमा नबोली हेरिरहनु भो।
”ए साने ले ले कोदाली । आउ तिमी र म मिलेर यी बिरुवा लगाऊँ ।“
सानेले भित्रबाट कोदाली ल्यायो ।
बाबु र छोरा मिलेर सुन्तलाका बोटहरु लगाउने काम भयो ।
बाले भन्नुभयो, “हाम्रो यो पहाडी ठाउँ सुन्तलाको लागि अति उपयोगी छ । यहाँको हावापानी सुन्तलाका लागि राम्रो छ।”
सानेले भन्यो, “बाबा म यी बिरुवामा पानी हाल्छु ।”
बाले हुन्छ को सकेत गर्नुभयो र भन्नु भो, “अब तिमीले यी बिरुवामा दिनदिनै पानी हाल्नु पर्दछ । बिरुवा जागेर जरा नलाग्दासम्म पानी दिइरहनु पर्दछ । पानी बोट, विरुवा, जनाबर लगायत सबै जीवित बस्तुको प्राण हो । पानी नभए यी कुनै पनि बाच्न सक्दैनन् ।” सानेले कुरा सुनिरह्यो र भन्यो, ”हस् बाबा यो काम मेरो भयो ।”
उसले बिरुवामा दिनदिनै पानी हाल्न थाल्यो । बिरुवा जागेर हुर्कदै गए । सानेलाई बिरुवा हुर्कदै गएकोमा खुसी लाग्यो । एकदिन बाले भन्नुभयो, साने हामीले सुन्तला लगाएको पनि तीन बर्ष भएछ । हेर त फुलफुल्न थालेछ ।
सुन्तलामा फल लाग्यो । सानेले खुसी हुँदै भन्यो “बाबा यो हाँगामा त सानो दाना लागेछ ।” हो । अब यी दाना बिस्तारै ठुला हुँदै जान्छन् । सानेले दिनदिनै सुन्तलाको बोट मसार्न थाल्यो । हेर्दा हेदैै सुन्तला ठुला भए । विस्तारै सुन्तलामा रंग भरियो ।
सानेले बाबालाई सोध्यो बाबा ? यो सुन्तला कहिले खाने । पख राम्रो बारको दिन पहिले यो सुन्तला हाम्रा पित्रृका नाममा चढाउँला । त्यपछि सबैले टिपेर चाखौँला । बाबाले बुधारको दिन पितृलाई सम्झेर सुन्तला चढाउनु भयो र भन्नुभयो, “पितृ देवोभव।” सबै पितृहरुलाई सम्झेर बाबाले नमस्कार गर्नुभयो ।”
बाबाले र मैले डालोभरि पाकेको सुन्तला टिप्यौ र सबैले बाँडेर सुन्तलाको स्वादमा रमायौँ । बाबाले भन्नुभो, “बाबु तिमी विदेश नजाउ है स्वर्ग भन्नेकुरा यही हाम्रो देशमा छ ।”
त्यहीबेला रेडियोबाट समाचार आयो । सबै नेपालीलाई खुसीको अवसर । अबदेखि नेपालको सुन्तला विदेश निर्यात हुने भएको छ । सबै नेपालीलाई पाखा भिरहरुमा सुन्तला खेती गरी आफनो लाभ उठाउन अनुरोध छ । बाले ताली बजाउनुभयो ।”