
शान्ता तिम्सिना
भक्तपुर
“के भयो बाबू ! किन यसरी बसेको ? ” आमाले सोधिन् ।
ऊ केही बोलेन झन् ढोकैमा खुटा पसारेर बस्यो ।
“यस्तो चिसो भुइँमा बस्नु हुन्न, बिरामी परिन्छ । उठ ! ” उनले सम्झाउँदै भनिन् ।
“मलाई भोक लागिसक्यो ! चाबी लगाएर कहाँ जानुभाथ्यो ?” उसले रिसाउँदै सोध्यो।
“म तरकारी टिप्न गएकी थिए बाबू ! केही खानुपर्छ नि त !” उनले सम्झाइन् ।
विद्यालय जाँदा उसको खाजा घरमै छोडिएको हुनाले ऊ भोकले रन्थनिएको थियो । अझ आउनासाथ घरमा चाबी लगाएको देखेर उसको रिसको पारो तातेको थियो।
“छिटो ढोका खोल्नु न , मेरो खाजा भित्रै छ ।” ऊ चिच्यायो।
“जाउ न त ! चाबी लिएर आऊ !” चाबी नभएर म त दिनभर बाहिरै छु ।” आमाले भनिन्।
“कहाँबाट ल्याउनु नि चाबी ! मसँग छ र ?” ऊ झन् रिसायो।
“बिहान विद्यालय जाने बेलामा तिमीले लुकाएको चाबी खै त ? मैले जति खोज्दा पनि भेटिन।
ढोका बन्द हुनाले मैले पनि खाना खाएकै छैन।
त्यो लुकाएको चाबी लिएर आउ त ! आमा छोरो सँगै खानुपर्छ ।”
ओहो ! मैले गल्ती गरेछु । आमाका कुराले ऊ छाँगाबाट झरेजस्तो भयो।
झल्यास सम्झ्यो अनि तुलसाको मोठमा लुकाएको चाबी लिएर आयो।
चाबी खोलेर सरासर भित्र गयो अनि बिहानको आफ्नो खाजा ल्याएर आमालाई खुवाइदियो।
“तिमी खाउ बाबू! मलाई किन खुवाएको ! आमाले माया गर्दै भनिन् ! मैले त बिहान खाएरै गएको । हजुरलाई झन् कति भोक लागेको होला।
“हजुर रिसाउनु पर्ने ! म पो रिसाएछु !” माफ गर्नु है आमा !
“बाबुले यति राम्ररी कुरा बुझेको देखेर उनको मन भक्कानियो । रसिला आँखा बनाउँदै टिफिनको खाजा आफूले खाँदै छोरालाई खुवाउन खोजिन।
“भयो आमा, म खन्न ! सजाय स्वरुप आज मलाई भोकै राख्नुस् !”





