मायाप्रेम


शुक्रराज कुँवर
धरान १०

प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा व्यस्त थिए। उनका पति इस्माइल अन्सारी थिए। उनीहरूको अन्तरधार्मिक विवाह थियो तर उनीहरूबीचको प्रेम देखेर धेरैले ‘राधाकृष्ण’ जस्तै’ जोडी भन्थे।
“हिन्दू महिला र मुसलमान पुरूषबीचको कस्तो अनमेल विवाह। प्रेम विवाह नै होला। सबैले ‘राधाकृष्ण’ जस्तै जोडी भन्छन् रे। यस्ता जोडीहरू देख्दा धर्मभन्दा ठूलो कुरा पनि रहेछ भन्ने लाग्छ।” नर्सहरूबीच यस्तै खासखुस चल्यो।
रेखा साहले जुम्ल्याहा बच्चाको जन्म दिइन – ‘एउटा छोरा, एउटी छोरी।’
आमा बच्चा दुवैको स्वास्थस्थिति राम्रो थियो। केहीबेरपछि एउटी नर्सले इस्माइल अन्सारीलाई खबर गरिन्। बाहिर व्यग्रतापूर्वक पर्खिरहेका उनी हुर्रिदै प्रसुति वार्डमा पुगे। खुसीको कुनै सीमा थिएन। रेखालाई निधारमा चुम्वन गरे र बधाई भने।
रेखाले जुम्ल्याहातर्फ हेर्दै विस्तारै भनिन्, ‘हाम्रो प्रेमोपहार।’ उनको आँखाबाट खुसीका आँसु झरे।
त्यसैबेला दुवैपक्षका सम्धी सम्धिना पनि आइपुगे। एकआपसमा बधाई साटासाट गर्दै अङ्कमाल गरे। त्यो दृश्य देखेर वरिपरीका सबै केही क्षण नि:शब्द बने।
एउटी नर्सले बच्चाको नाम के सोच्नु भएको छ?” भनेर इस्माइललाई सोधिन्।
“रेखा एउटी नारी हुन् र अब आमा पनि। उनको सम्मान गर्दै हामीले बच्चाहरूको नाम धर्मले होइन, प्रेमले रोजेका छौँ,” इस्माइलले भने।
“कस्तो नाम! ‘राधाकृष्ण’ हो ?” नर्सले उत्साहित हुँदै सोधिन्।
“होइन।” इस्माइलले संक्षिप्त उत्तर दिए।
“अनि के हो त ?” नर्स झनै उत्साहित भइन्।
इस्माइलले ओँठमा हल्का मुस्कान छर्दै भने, “छोरीको नाम ‘माया’ छोराको नाम ‘प्रेम’ – मायाप्रेम !”