पुतली झैँ हुन पाए …


रमेशचन्द्र घिमिरे

पुतली झैँ हुन पाए संसार यो चुम्थेँ
बादल जस्तै चारैतिर रमाएर घुम्थेँ

फूलबाट पैँच लिई रङ्ग जिउमा छरी
ऐना हेर्न मिल्ने भए हेर्थेँ घरिघरि
गाजल लगाई दुई आँखामा अझै राम्री हुन्थेँ
पुतली झैँ हुन पाए संसार यो चुम्थेँ

पखेटामा छिर्केमिर्के देखेपछि टीका
जूनले पनि देख्थ्यो होला आफूलाई फिका
आकाशभन्दा माथि पुग्थेँ तारालाई छुन्थेँ
पुतली झैँ हुन पाए संसार यो चुम्थेँ।