सङ्गत


सुमन कडरिया
चितवन

“मेरो विगत र वर्तमान, जमिन आसमानको फरक !” आफ्नै कोठामा आराम गरिरहेको बेला ऊ एक्लै सोचिरहेको थियो । चरम गरिबीमा पिल्सिएर धनी बन्ने सपना बोकी एक दिन सुन गुरुकहाँ पुगेको कुरा उसले सम्झियो।
उसले गुरुलाई भेटेर भनेको थियो, “गुरुजी ! मलाई पनि तपाईँजस्तै धनी बन्ने बाटो देखाइदिनुस् न !” गुरूले मुस्कुराउँदै भनेका थिए- “सुन खोज्नुभन्दा पहिले सुन चिन्ने कला सिक र सुन चिन्नेको सङ्गत गर।”
सुन गुरुको उपदेश बोकेर ऊ सहर पसेको थियो । सुन पसलमा काम नपाएपछि उसले सुन व्यापारीको घरमा भाँडा माझ्ने काम गरेको थियो । लगनले काम गर्दै जाँदा उसले सुन चिन्न र व्यापार बुझ्न सिकेको थियो।
“आज म र छोरा पनि हजुरसँगै हाम्रो सुन पसलमा जान्छौँ नि है !”
उसकी श्रीमतीको आवाजले ऊ झस्कियो।
जुरूक्क उठेर समय हेर्यो । पसल खोल्न ढिला भैसकेको थियो । ऊ निस्किन हतार गर्दै थियो । बाहिर कसैले बोलायो -“ए सुन साहुजी ! सुन साहुजी !”
उसले बाहिर हेर्यो । उनै सुन गुरु थिए त्यहाँ । हतार भए पनि उसले गुरूलाई भित्र बोलायो । भलाकुसारीको क्रममा भन्यो – “गुरू, हजुरले मलाई सुन नै त दिनुभएन तर सुनसम्म पुग्ने बाटो र सुन चिन्ने सङ्गत चाहिँ दिनुभयो।”