“मेरो बा”


गणेश मिश्र

मेरो बा—
घाम नउदाउँदै उठ्ने अनुहार,
आफ्नो थकानलाई ढाकेर,
मेरो बिहान उज्यालो बनाउने हात,
उनको पसिनामा-
मेरो भविष्यको नक्सा कोरिएको छ,
नबोलेका सपनाहरू
उनका आँखा भित्रै जोगिएर बसेका छन्।

मेरो बा—
कठोर देखिने तर
मनभित्र नौनीजस्तै कोमल,
म लड्दा ढुंगाजस्तो टेवा बन्ने,
म हाँस्दा-
आफैंभित्र मुस्कुराउने मौन खुशी,
उनको मौनता-
उपदेशभन्दा गहिरो पाठ हो,
अभावका दिनमा-
उनले आफ्ना चाहनाहरू
कपडाको खल्तीमा हालेर,
मेरो पुस्तकको पानामा साटे,
नयाँ जुत्ता किन्ने उमेरमा,
मेरो शुल्क तिरे,
आफ्नो सपना बेचेर
मेरो आँखामा ज्योति छरिदिए।

मेरो बा—
क्रोधमा पनि मायाको अर्को रूप,
त्रासमा पनि –
सुरक्षाको घेरा,
उनको कडा आवाजभित्र,
डर होइन,
भोलिको चिन्ता लुकेको हुन्छ
समयसँगै,
उनका कपाल सेतै भए,
घुँडा दुख्न थाले,
आँखा दृश्यहिन भए,
तर मेरो नाम उच्चारण गर्दा,
अझै बलियो सुनिन्छ उनको स्वर,
उनी थाके पनि,
छोरो नथाकून् भन्ने चाहना –
कहिल्यै थाकेन,
आज म जहाँ छु,
त्यहाँ पुग्ने बाटोमा-
उनका पैतालाका डाेब छन्,
इमानदार- पसिनाका थोपा छन्,
स्वाभिमानसहितको नदेखिने प्रार्थनाहरू छन्।

मेरो बा—
कञ्चन झरनाभन्दा पवित्र,
पुस्तकभन्दा ज्ञानी,
आकाशभन्दा विशाल भरोसा,
उनी शब्दमा कम,
कर्ममा महान् छन्
यदि कविता फेरि लेख्न पाएँ भने,
उही शीर्षक राख्नेछु
“मेरो बा”,
किनकि
मेरो अस्तित्वको
सबैभन्दा सुन्दर कविता
उनी स्वयम् हुन्।