
रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
बाबासँगै बिताएका रमाइला पल
सिम्झिएर दिन रात हुन्छु झलमल।
बाबाभन्दा संसारमा छैन ठूलाे धन
बाबासाथ हुँदा मेराे रमाउँथ्याे मन।
बाबा मेराे भराेसाकाे मियाे हनुहुन्थ्याे
ज्ञान सीप चेतनाकाे दियाे हुनुहुन्थ्याे।
आफू भाेकाे भएर नि खुवाएर खाना
भुलाउने गर्नुहुन्थ्याे सुनाएर गाना ।
नानाचाचा दिनुहुन्थ्याे खुसी पार्नुहुन्थ्याे
मेरा लागि आफ्ना खुसी पर सार्नुहुन्थ्याे।
ताेते बाेली बाेल्न सिकें बाबासितै मैले
ताते हिड्न सिकाउनु भएकै हाे जैले।
काँधमाथि चढाएर डुल्दै गाउँ घर
भन्नुहुन्थ्याे बाँचेकाे छु मेरी छाेरी छ र।
हुनुहुन्न आज बाबा कता हुनुहुन्छ
सम्झी सम्झी बाबालाई मेराे मन रून्छ।
मेरा मन खाेजी राख्छ बाबा अहाेरात्र
आमालाई साेध्याे भनी रूनुहुन्छ मात्र।
सृष्टिकर्ता संसारका भगवान सुन
नपराेस् है अरूलाई बाबाबिना रून।





