“छोरी”


शान्ति सिग्देल

प्यारी छोरी छुनुमुनु गरी खेल्दछिन् बाग भित्र
आनीबानी अनुपम अहा ! बुद्धकोझैँ पवित्र
पढ्दै लेख्दै जतनसँगले राख्दछिन् मालताल
टाठी बन्दै चपल दिलले सोध्न थाल्छिन् सवाल।

हाँस्दै हेर्छिन् चिरबिर चरी भुर्र आकाश माथि
आऊ प्यारा वरवर सरी बन्छु तिम्रै म साथी
भन्दै डाक्छिन् सरल मनले आँगनीमा रमाई
छोरी नाच्छिन् छमछम गरी हात मेरा समाई।

खाजा खाना फुरफुर हुँदै खान्छु आफैँ भनेर
आफ्ना नाना खुरुखुरु सधैँ धुन्छु आफैँ सबेर
यस्तो सुन्दा हरपल खुसी जाग्छ भागी अँधेरो
छोरीले नै मन महल यो स्वर्ग जस्तै छ मेरो।

बेली चम्पा लहलह लता पालुवा पात जस्ती
साह्रै ज्ञानी कुसुम कलिका प्रेमलेचुम्नु जस्ती
मेरा सारा विरस मनका दूर गर्ने यिनै हुन्
फुल्दै फुल्दै असल गुणले शाान्ति छर्ने यिनै हुन्।

आमा बाबा गुरुजन सबै पूज्य द्यौता समान
साथी सङ्गी परिजनहरू जिन्दगीका बगान
भन्ने जान्दा विमल मनले मार्ग बन्ने छ राम्रो
ज्ञानी बन्दा कुसुम वनझैँ खुल्छ सौभाग्य हाम्रो।