
मचिन्द्र खत्री
छन्द=इन्द्रवज्रा
बेली चमेली जब फुल्न लाग्छन्
आएर मौरी पनि भुल्न लाग्छन्।
हो रीत यस्तै रससाथ भुल्ने
माँया यसैको बसमा छ डुल्ने।।
आयो रमायो भँमरो उडेर
यो फस्न थाल्यो रसमा भुलेर।
यो सुन्दरीको बसमा छ आज
मीठो मजाको रसमा छ आज।।
मारेर डङ्का पछि दूर भाग्ला
या फूल अर्कोसँग साथ लाग्ला।
स्वार्थीछ मौरी भँमरो छ उस्तै
यो बिम्ब हो मानिसको दुरुस्तै।।
यो बैँस हाम्रो जब फुल्न लाग्छ
संसार सारा मन डुल्न लाग्छ।
के लाज केको डर मान्छ बैँस
खोजेर सारा मन गर्छ ऐश।।
देखेँ बिहानै जब यो चमेली
खेलेँ यसैमा दिलसाथ हेरी।
देख्ने र लेख्ने कविता छ मेरो
संसार घुम्दा यसमा छ फेरो।।





