
शन्ति शर्मा
गुराँसका थुँगामा पाेखिएका अनुहारहरू !
सुखी र खुसी जीवनजस्तै मुस्काइरहेकाे गुराँसले संसारभरिका आँखालाई सम्माेहनकाे मादकताले लट्ठ पारिदिन्छ। याे समय उनैकाे हाे। वर्तमान फुलारु धर्तीमा सबैभन्दा बढी खुसीका स्राेत यिनै लालमुहारका प्राकृतिक सन्तान हुन्।
हाे त, वसन्त ऋतुले हिमालपारिका भिरपाखाहरूलाई गुराँसका राताम्य फूलले रंगीन बनाएको छ। ती फक्रिएका गुराँसहरूले हरियो वनलाई रातो र गुलाबी रंगले सजाएका छन्। हावामा लहरिँदै मुस्कुराइरहेका ती फूलहरू हाम्रो पहाडी भूगोलको गौरव र प्राकृतिक सम्पदाका प्रतीक हुन्।
तर, हजुर बेखबर पक्कै हुनुहुन्न सायद।
यो अनुपम सौन्दर्य अहिले संकटमा छ। गुराँसका हाँगाहरू निर्दयतापूर्वक भाँचेर बेच्नका लागि थुपारिन्छन्। रमाइलोको नाममा फूल चुँडेर फोटो खिच्नेहरू पनि थुप्रै छन्। यसरी हरेक वर्ष गुराँसका रूखहरू विनाश भइरहेका छन्।
मैले चाहिँ लहरै गुराँस बेच्न बसेका साना नानीहरूसँग किनेर बोकेकी हुँ। मैले थाहा पाएँ—यो गुराँस उनीहरूको आर्थिक आवश्यकता पूरा गर्ने एउटा साधन बनेको छ। तर, किनकिन मनमा एउटै प्रश्न उठिरह्यो—के यसरी नै हामीले आफ्नो प्राकृतिक सम्पदालाई नष्ट गर्दै जाने त ?
यी गुराँसहरू केवल फूल होइनन्। ती हाम्रो पहिचान हुन्। ती हाम्रो प्रकृति हुन्। भिरपाखाहरू राताम्य भएर फक्रिँदा हाम्रो जीवन र वातावरण रंगीन हुन्छ। ती फूलहरूले पहाडलाई सजाउँछन् र हाम्रा आँखालाई आनन्द दिन्छन्।
तर, यदि यही क्रम जारी रहिरह्यो भने भविष्य कस्तो होला ? के हाम्रा सन्ततिहरूले पनि यी गुराँसहरू देख्न पाउनेछन् त ? कि उनीहरू केवल किताब र इन्टरनेटका तस्वीरमा गुराँस खोज्दै जीवनको रंग कल्पना गर्न बाध्य हुनेछन् ?
हामीले यथाशीघ्र सचेत हुनुपर्छ। गुराँसहरूलाई जोगाउनुपर्छ। ती फूललाई टिपेर होइन, तिनको प्राकृतिक काखमा फक्रिएको देखेर आनन्द लिनु साँचो रमाइलो हो।
आउनुहोस्, हामी सबै मिलेर यो अनमोल सम्पदालाई जोगाऔँ। गुराँसका ती सुन्दर फूलहरूलाई सधैँ भिरपाखामा मुस्कुराउन दिऔँ—लोप हुन होइन्।
हामीभित्र आफ्नाे जीवनजस्तै प्रकृतिका यी रङ्गीन उपहारहरूमाथि न्याय गर्ने विवेक कसले भरिदेला नि नारान् !





