“जो जे हो प्रकृति हो”


देव भट्टराई

बाढी आएपछि पनि कुलो पूर्णत: सङ्लिँदैन।
साडी लाए पनि पुरुष सौम्य नारी हुँदैन॥
काशी धाए पनि प्रकृतित: श्वान गाई हुँदैन।
आनीबानी सितिमिति कुनै व्यक्तिको सुध्रिँदैन॥

टाढा जाँदा पनि सुजनले मित्रता बिर्सिंदैन।
मायाँ लाए पनि कुजनले शत्रुता बिर्सिंदैन॥
गाना गाए पनि खुश भई न्याउली हर्षिंदैन।
ज्ञानी मान्छे खुश सहजमा दु:खमा तर्सिंदैन॥

चाहेजस्तो ललित कविता चाहले लेखिँदैन।
वाग्देवीको तृणभर भए बारले छेकिँदैन॥
केही आफ्नू श्रम र पसिना कर्मले गर्छ काम।
लाएमात्रै फसल असली खान पाइन्छ माम॥

जस्तै आए पनि सुरभिलो देशमा लोकतन्त्र-
नेता राम्रा असल नभए तन्त्रमा हुन्न मत्र॥
जातै छोछी मत र जनता छाकमा बिक्नथाले-
काले काले मिलजुल गरी खाइहाल्छन् त भाले॥

आफ्नै भित्री मन कति यहाँ व्यर्थ चिन्ता बटुल्छ।
के के सोची क्षणिकपलमा सात-संसार डुल्छ॥
व्याधालाई मतिबल दिई साधु पार्नै सकिन्न।
जो हो जे हो प्रकृतिगुण हो भिन्न आत्मा विभिन्न॥