तुलसी पण्डित
नोर्बु झसङ्ग भए । आज सामाजिक विषयमा पाठ कसरी अगाडि बढाउने ? विद्यार्थीले सजिलै सँग बुझ्ने कुरा के होला ? उनी एकछिन् घोत्लिए । जड् कुरो पत्ता लागेको अनुभव गरे । उनको मुहार हँसिलो भयो । उनी सरासर चउरमा गए । पहिलो दोस्त्रो तेस्रो चौथो पाँचौ गरेर साना देखि ठूला ढुङ्गा मिलाए ।
त्यसपछि सर सरासर कक्षामा जानु भयो । बोर्डमा एकता दिवस भनेर लेख्नु भयो ।
“ल भनत तिमीहरुलाई एकता भनेको के हो थाहा छ ?” ” थाहा छैन सर । ”
“ल हिड चउरमा ।”
विद्यार्थी खुशी हुँदै चउरमा पुगे ।
“ल राम यो पहिलो ढुङ्गा उचाल ?” ” उचाले सर ।” ” अब क्रमिक रुपमा उचाल्दै जाउँ ढुङ्गा ?” ” सर यो तेस्रो ढुङ्गा उचाल्न सकिन ।” ” कति जनाले उचाल्न सक्छौ साथी बोलाउ ।” ” सर हामी दुई जनाले उचाल्यौँ ।” ” अब क्रमिक रुपमा उचाल्दै जाउँ ?” ” सर यो अन्तिमको ढुङ्गा उचाल्न धेरै जना लाग्यो सर ।
सरले सबै विद्यार्थीहरुलाई ढुङ्गा उचाल्न भन्नु भयो । सबैले ढुङ्गा उचाले ।
“ल भन अब के भो ?” ” सर तेस्रो ढुङ्गाबाट नै साथीहरुको सहयोग लिनु पर्यो । साथीहरुको सहयोग बिना पछिका ढुङ्गा उचाल्न सकिएन । अझ अन्तिमको उचाल्न धेरै साथी लाग्यो ।”
“ल भन त एकता बिना कुनै काम गर्न सकिन्छ ?”
” सकिदैन सर । हामीले राम्रै सँग बुझ्यौँ एकताको महत्व ।”