रक्षा बन्धन


रम्भा पौडेल

“ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके । उ चिदीका घरका बाको घरमा पुज्ने रे ।”
छोराले बाबातिर हेरेर प्रश्नगरे ।
“हो, पुज्ने भनेका छन् । पख न म नुहाइ धुवाई गर्छु अनि जाने हो । ”बा नुहाउन धारातिर लाग्नु भयो । दिपकले बालाई कुरिरहयो ।
बाले नुहाएर धोती काँधमा राख्दै आउनुभयो । दिपक बसिरहेको देखेर “तिमीले नुहायौ त?” भन्दै प्रश्न गर्नुभयो । दिपकले “मैले पनि नुहनाउनु पर्छ र ? मैले पुजा गर्ने हैन क्यारे” भन्दै जवाफ दियो । बाबाले “त्यसो भनेर काहाँ हून्छ र ? पुजाघरमा पुजासमाग्री लिएर जाँदा त चोखो भएर जानु पर्छ ।” भन्नुभयो ।
“त्यसो भए म नुहाएर आइहाल्छु भन्दै उ धारातिर कपडाको पोको लिएर दौड्यो ।”
बाले आमालाई बोलाउदै भन्नुभो,“ए सर्मिला सुन त त्यो जनै र पूजा समाग्री तयार पार्यौ त ?”
भित्रबाट आमाले भन्नुभयो,“यी तयारी भैसक्यो । ढिलो गर्ने त हजुर नै हो क्या !”आमाले पूजा सामाग्री बाको हातमा दिनुभो ।
बाबु–छोरा सँगै पुजास्थलतर्फ लागे । जादै गर्दा छोराले भन्यो — “ए बा ,मलाई एउटा कुरा बताइदिनु त ।“
“के भन न ।”
“खासमा यो जनै लाउनु र हातमा डोरो बाध्नुको अर्थ के हो ?”
“ए त्यसो ! तँ त आजकल जेको पनि अर्थ खोज्ने भाछस् त ! प्रश्न गरेको राम्रो । यस्तै जिज्ञासुले ने सबै कुरा थाहा पाउँछन् ।”
“हातमा डोरो बाध्नु मनेबैज्ञानिक रुपमा मानिसलाई बलियो बनाउने कुरा हो । यसलाई सुरक्षाको कवच भनेर पनि भनिन्छ । हामी यसलाई रक्षाबन्धन भन्दछौँ । रक्षा भनेको सुरक्षा गर्ने धागोको रुपमा यसलाई लिइन्छ । यो बाँधेपछि डर त्रास र नराम्रोकुराबाट जोगाउछ भन्ने भनाइ छ ।”
दिपकले कुरा सुनिरहयो ।
रक्षाबन्धनको डोरो बाँध्दा यो मन्त्र भन्ने गरिन्छ,
“येन बध्दो बली राजा
दानबेन्द्रँो महाबल
तेनत्वमप्रतिबध्नामी
रक्षेमा चलमा चल ।”
“जनै लाउने कुरा मानिसलाई अनुशासनमा राख्नु हो । ब्रतबन्ध गरेपछि जनै लगाउने परम्परा छ । ब्रतबन्धमा गुरुबाट मन्त्र सुनाइन्छ । मन्त्र सुनेपछि सधै बिहान उठेर नुहाएपछि मन्त्र जप्ने परम्परा छ । सूतिको धागोबाट बनेको यो जनै लगाउँदा हाम्रो मन र बोलीलाई नियन्त्रणमा राख्न मद्दत गर्छ  भन्ने धार्मिक मान्यता छ । हाम्रो जीवनलाई व्यबस्थित र अनुशासित बनाउन यो कर्मको महत्वपुर्ण भूमिका छ । बालबलिका अलि बयस्क हुन लागेपछि उनीहरुको शरिरमा आउने परिवर्तले उनीहरुमा उच्छृखँलता बढ्न नदिन र अनुशासित जीवनयापनका लागि यो ब्रतबन्धपछि केके गर्न हुने र केके गर्न नहुने भनेर गुरुबाट प्रवचन गराइन्छ । हाम्रा पुर्खाहरुले नियम कानुन नहुँदा मानिसलाई अनुशासनमा बाध्न बनाइएको नियम हो बाबु ।”
यो पर्वलाई उपनयन पनि भनिन्छ । उपनयन पछि जीवनमा विचारलाई शुद्ध बनाउँदै राम्रा काम र राम्रा विचार मनमा सधैँ राख्न यो यतिबेला सिकाइन्छ ।”
यति कुरा भनेपछि बा पुजाघर पुग्नु भयो । दिपकले पुर्खाले गर्दै आएको यो उत्सवलाई छेउमा बसेर हेरीरह्यो । उसले मनमनै भन्यो मेरो पालो कहिले आउँछ ? त्यसपछि त मैले ननुहाई त खान नै पाउँदिन होला ?