शान्ता शाक्य
धापाखेल ललितपुर
“आमा त्यसो नभन्नुस् न।”
“नभनेर हुन्छ ?आफ्नै आँखाले देखेपछि।”
“तपाईँले जे ठान्नुभयो ,ऊ त्यस्ती छैन क्या।”
‘स्वास्नीको बखान गर्छस् ,सुन्नु छैन तेरो कुरा’ भन्नुहुँदै भन्किएर आफ्नो कोठामा पस्नुभयो। त्यही बेला रमा टुप्लुक्क आइपुगी। लुगै नफुकाली चिया पकाई आमालाई दिन गई।
‘खान्न चियासिया तैँ खा ‘ भनेको सुनेँ।
ऊ आत्तिंदै बाहिर आएर सोधी-
“होइन ,आमाले त्यस्तो व्यवहार कहिल्यै गर्नुहुन्नथ्यो । के भएछ त ?
वास्तविक कुरा भन्नु अघि सत्यता पत्ता लगाउन सोधिहालेँ-
“रमा,आज अफिसबाट यति ढिलो किन?
“अँ,काम सकाउनै पर्ने भएर हो। हतारले ढिलो आउँछु भनेर फोन गर्न पनि भ्याइन। ”
“एक्लै फर्केकी हो ?”
“हो,किन र ?”
“आमाले आफ्नै आँखाले तिमी एक जना युवकसँग बाइकमा आएकी देख्नुभएको रे ”
“अँ,त्यो त हो ।”
“को हो नि त्यो?”
“आ,त्यो त पठाउ बाइकको चालक पो हो त ।”