मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका
कुनै काम भए मात्र
खुसी त्यही रमाउँछ
व्यक्तिले प्रेम पाएमा
खुसी झन् मग्मगाउँछ |
आशामा फुल्दछन् नित्य
खुसीका बाबरीहरू
सेवा सन्तोषमा झर्छन्
खुसीका झरनाहरू |
बितेको पलमा ज्यूँदा
दुःखले राज्य गर्दछ
भोलिको मात्र सोचेमा
तनाव अति बढ्दछ |
वर्तमान खुसी बन्दा
जितिन्छ मान वैभव
जवान वृद्धमा भन्दा
बच्चामा हर्ष धेर छ |
मेट्छ मुस्कानले सारा
गालाको चाउरीपन
हॉंस्ने मानिसको आयु
लम्मिन्छन् अझ सत्गुण |
धन दौलतमा भन्दा
चरित्र शुभभावमा
फल्दछन् हर्षका स्याउ
उद्यमी वाग वागमा |
खुसी चुम्बक हो तान्छ
अर्को खुसी उसै तिर
इष्या लालच वा दभ्भ
जान्छन् अर्को दिशा तिर|