“ठेकी”

गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ

साँघुरो छ घाँटी मेरो
फुकेको छ जीउ
राख्छन् सबले घरमा मलाई
बनाउनलाई घिउ।

मुख पनि फराकिलो छ
खान्छु धेरै पाथी
पशुपालक किसानका
म त असल साथी।

दूध हाली जमाउँछन्
मीठो स्वादको दही
मथिकन मदानीले
बनाउँछन् मही।

काठको पनि बनाउँछन्
मलाई बान्की पारी
आहा ! खुसी हुन्छन् सबै
खाँदा मही सारी।

स्टिल र माटोले नि
बनाउँछन् मलाई
घिउ मथ्न सघाएर
गर्छु सबको भलाइ ।

घुर्रो घुमाई मदानीको
समाउँदै नेती
मथ्न थालेपछि बलले
घुर्छिन् नौनी सेती।

एउटै छ पीर मलाई
हराउँछु कि भन्ने
आधुनिक भएपछि
को होला र गन्ने?