खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
धेरै समयपछि शारदा,उर्मिला र जमुना बजारमा अकस्मात् भेट भएपछि आआफ्नो मनको भारी बिसाउन खाजा पसलमा गए। शारदाले सञ्चोबिसञ्चोको औपचारिकतापछि सोधिन् ” तपाईंहरु अहिले केमा व्यस्त हुनुहुन्छ ?”
उर्मिलाले भनिन् ” मेरो फागुनको दोस्रो हप्ता स्नातकोत्तरको अन्तिम जाँज छ,त्यसैले अरुतिर हेर्न भ्याएकी छैन।”
जमुनाको भनाइ रह्यो ” मेरो पनि फागुनको तेस्रो साता लोक सेवा आयोगको तयारी गर्नुछ। पहिले स्थायी जागिर भए ढुक्क भइन्छ । कतिन्जेल अरुको खुट्टामा उभिनु।”
त्यसपछि उर्मिला र जमुनाले एकैसाथ सोधे ” शारदा, तिम्रो पनि कुनै परीक्षा छ कि?”
शारदाले जवाफ दिइन् ” मैले पनि धेरै सोचेर प्रयोगात्मक परीक्षा दिनु छ?”
दुबैले फेरि उत्सुकतापूर्वक सोधे ” के परीक्षा हो त्यो ?”
उनलेे बताइन् “जीवनको हरेक पाइला आफैँमा परीक्षा हो । यो परीक्षामा आफ्नो बिशिष्टता देखाउन नसके अध्ययन र जागिरको परीक्षामा पास भएर मात्रै जीवनको मिठास फेला पार्न सकिदैन । हो दिनदिनै त्यही प्रयोगात्मक परीक्षा दिइरहेकी छु ।”