
जानकी कर्माचार्य
हरिसिद्धि, ललितपुर
आजबाट एसइइ परीक्षा सकियो हाम्रो फूर्तिनै बेग्लै । हामी गफिँदै घर तर्फ लाग्दै थियौँ ।
“मलाई जिन्दगीको गिन्ती आउँछ नि ! ” साथीले भनिन्।
“जिन्दगीको पनि के गन्ती नि !” मेरो कुरा सुनेर उनले फेरि बोलिन।
“लौ सुन , मानव जीवनको प्लस (+) माइनस (-) ”
“हे के दार्शनिक जस्तो कुरा गरेको …?”
“जन्मिने बित्तिकै गन्ती शुरू हुन्छ माइनस ।”
“अनि प्लस नि !”
“त्यही त भन्दैछुँ नि, हामी सदा प्लसमा रमाउँछौँ, अझ प्लस थप्ने प्रयास गर्छौँ ।”
“हो त नि माइनस किन चाहियो र ?”
“त्यही त माइनस त दिमागमा आउँदै आउँदैन । हामीलाई प्लसले यसरी भुलाउँछ कि माइनसको आभास पनि हुन दिँदैन ।”
“अनि राम्रो त सबैलाई आवश्यक हुन्छ त ।”
“सबले सकेसम्म प्लसको चाहना गर्दछन् न कि अलिकति माइनस । माइनस दैनिक प्रक्रिया हो ।प्लस सदा हुँदैन तर पनि थोरै भए पनि सब यसैमा रमाउँछन् ।”
“खै तिम्रो कुरा …!?”
“हेर माइनस बिना प्लसको केही महत्त्व हुँदैन । जिन्दगीको के भरोसा तर अनगिन्ति रहर, असीम चाहना,इच्क्षा आकंक्षा सब प्लस होस् भन्छन् । अनि दु:ख कष्ट,पीडा, भय सब माइनस ।”
“हुन पर्ने त्यही हो।”
“जन्मदिन भव्य रूपमा मनाउँछन् एक वर्ष उमेर प्लस तर यादै हुँदैन एक वर्ष आयु माइनस।”
“हँ …!”
“प्रकृतिको नियम नै यस्तै छ , सास छउँजेल आश गर्नु पर्ने । बाइ भोलि भेटौँला।”





