घनश्याम रेग्मी
फागुनको बतासले सम्झाउँछ धेरै कुरा
जिन्दगीका यादहरू रिलजस्तै घुम्छन् पूरा ।
गुराँसको लालीमाले बालापन सम्झाउँछ
हाँसो ठट्टा जे जे गर्यौँ पूर्वस्मृति गराउँछ ।
उकाली र ओरालीमा गाएका ती गीत भाका
पाखाभरि छरिएका अनगिन्ती हाम्रा कथा । फागुन …
आरु फुल्यो पैँयु फुल्यो पहाडका पाखाभरि
सिमलका फूल फुले तराईका आँखाभरि ।
बग्रेल्ती छन् जीवनका हाम्रा कथा छरिएका
कतातिर थन्क्याउनु हाँसो पीडा भरिएका । फागुन ….
हात लिई होली रङ्ग दली गाला रङ्गीचङ्गी
मेरो हात तिम्रो गाला लोभिएका साथी सँगी
छिर्के हान्दै रङ्ग दल्ने कस्तो तिम्रो बानी थियो
एकै छिन नदेखेमा खोज्ने हाम्रो बानी थियो । फागुन