“भात”

234

रुद्र अधिकारी
ईटहरी, सुनसरी
हालः लन्डन

“यी नानी बाबुहरूलाई पाउरोटी र दूध दिनु पर्थ्यो ! भोकाए होला ।” अमेरिकाबाट गर्मी बिदा मनाउन आएका नाति नातीना देखाउँदै आमाले भनिन।
आमाको बोली भुईमा खस्न नपाउदै गीताले जवाफ दिइन “पर्दैन आमा पाउरोटी के खान्थे !”
उसो भए भुटेका मकै दिए भैगो नी!
भुटेका मकै पनि खादैन, आमा।


आमाले अचम्म भावमा भनिन “यहाँका केटाकेटी त कत्ती रमाएर खान्छन । चिउरा त खान्छन होला नी ?”
गीताले चिउरा पनि नखाने बताइन।
यतिकैमा “भान्जा भान्जीहरूलाई मैले ‘डिपार्टमेन्ट स्टोर’ बाट ‘ब्रेड’, ‘पपकर्न’ र ‘कर्न फ्लेक ’ ल्याइदिएको छु, हेरेर के-के खान्छन दिनु ।” भन्दै भाइले गीतालाई झोला दिए।
गीताले झोला खोलेर हेर्दै भनिन “सबै थोक खान्छन।”
दिदी भाइको कुराले आमालाई विदेशी संस्कृतिले नेपालमा कति गहिरो गरी जरा गाडेको रहेछ भन्ने ज्ञान भयो ।
आमाले चर्को स्वरमा भनिन, “भरे भात नपकाउनु, केटा-केटी भात खादा रहेनछन, आज सबैलाई ‘राईस’ पकाउनु।”