बाल मुज्दुर


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“ओहो बालकले के काम गर्छ ?”- डाक्टर पुनितले रामेको हात खुट्टा नियाल्दै सोधे। “यो रामेलाई भाँडा खकाल्न राखेको हो। काम गर्न थालेको दुई महिना भएको छैन यसको खुट्टा हात यसरी कुहेका छन्।”- धन्ना साहुले नाक मुख बिगार्दै भन्यो।
रामे अन्दाजी मुस्किलले पन्ध्रवर्ष पुगेको थियो।
“तर हजुरले होटेलमा काम लगाउने अलि बालिग पाउनु भएन ? अहिले त नाबालिगलाई यसरी कजाउन पाइँदैन नि।”-डा. पुनितले रामेको खुट्टामा औषधीले सफागर्दै भने।
“यसो हो क्या डाक्टर भाइ ! तिमीलाई के ढाट्ने होटलको काममा ससाना बालकहरू फुर्तिला हुन्छन् उनीहरूलाई काम अहृाउन सजिलो अनि पैसा पनि खासै लाग्दैन । पहिले एउटा केटा राखेको थिएँ, लामू समयसम्म काम गर्यो पछि उसले छाडेपछि गतिला केटा भेट्टिएनन्।”- साहुले विगत स्मरण गर्दै भन्यो।
“यसलाई कताबाट फेला पार्नुभएको हो त ?”- डाक्टर पुनितले सोधे। “यो त हाम्रो होटेलमा दुध लिएर आउँछ एकजना त्यसैलाई भनेर मगाएको हो। घरमा यो भन्दा ससाना भाइ बहिना रहेछन् यसको बाले आर्की विहे गरेको रहेछ सारै दया लाग्यो र राखेको तर किन राखेछुँ भन्ने गराएको छ।”- साहुले जानकारी गराउँदै भन्यो।
“अब यो औषधी नियमित खान लगाउनु र बीस दिन जति आराम गर्नुपर्छ पानीमा हात नहाल्न भन्नुहोला।”-डा.पुनितले औषधी दिँदै भने।
“ओहो अब कसरी काम चलाउने होला ?”- साहुले निदार चाउरी पार्दै भन्यो।
“यस्ता ससाना बालक राख्नु हुँदैन कानुन अनुसार !”- डा. पुनितले सुझायो।
ठिक भन्यौ डाक्टर भाइ ! आजै यसलाई छुट्टी गराई दिन्छु। अब यसका हात खुट्टाले पनि कामगर्दैनन् यतिका दिन किन पालौँ ।”-साहुले भन्यो।
“यो बाबुलाई पूर्ण रूपमा निको गराएर त्यो बेलासम्मको तलब दिएर मात्र छुट्टी गराउनु होला । छुट्टी गराउँदा मलाई यो नम्वरमा जानकारी अवश्य दिन नभुल्नु होला ।”- यतिबेर उनीहरूको कुरा सुनिरहेको ब्यक्तिले आफ्नो कार्ड देखाउँदै भन्यो। ऊ मानव अधिकार कर्मी भएको उक्त कार्डबाट जानकारी भयो।