
नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
जून जस्तै उज्यालो छ,
अक्षरको सहर
किताब नै बोकी हिँड्छु,
बोकी मीठो रहर।
कहिले यसले बादल माथि,
सयर गराई दिन्छ
कहिले यसले भँगेरा झैँ,
उड्न सिकाइ दिन्छ ।।
कोरेका ती चित्रभित्र,
लुकामारी खेल्छु
अक्षरका फूलहरू,
एउटा माला झेल्छु।
नदी जस्तै बग्छ यहाँ,
ज्ञानको त्यो धारा
अध्याँरोमा बनिदिन्छ,
चम्किलो यो तारा ।।
थुचुक्क यो काखमा बस्छ,
बोल्दैन यो मुखले
संसारलाई देखाइदिन्छ,
कति धेरै सुखले।
न त झगडा गर्छ यसले,
न त कहिल्यै रिसाउँछ
मनभित्रै रमाइलो,
बगैँचा यो बिसाउँछ ।।
मसीको यो बास्नाले,
मनै मेरो तान्छ
मेरो साथी पुस्तक नै,
जहाँ जान्छु जान्छ।
पखेटा हुन् यिनै मेरा,
नयाँ संसार भेट्ने
अज्ञानको अँध्यारोलाई,
यहीँबाट मेट्ने ।।





