
लक्ष्मी रेग्मी खनाल
वालिङ् स्याङ्जा
आमा गिटी कुटी सक्नुभयो ? लिनु खाना मैलै त घरै खाएर आको रुपकले भन्यो।
बाबु आज स्कुल नगको ? जान्न आमा आज पढाइ नै हुँदैन । खै, टिचरले के के कार्यक्रम हुन्छ भन्नुभाको छ । आमाले रुपकको कपाल समाउँदै भन्नुभयो – “जा बा जा पढाइ जति ठूलो यो संसारा केही छैन् । तैले पढिस् भने भोलि मैलै पनि सुख पाम्ला ।” आमा हजुरले कुरै नबुझ्ने क्या ! स्कुलमा सबै म जस्तो गरिब छैनन् । कार्यक्रममा कति राम्रो राम्रो लुगा लगाएर आउँछन । आमा म ठूलो भएर विदेश गएर हजुरलाई नि ! राम्रो लुगा र धेरै पैसा ल्याइदिन्छु नि है ! ” – रूपकको प्रतिक्रिया थियो।
त्यहि बाटो भएर विभिन्न नारा लगाउँदै स्कुले विद्यार्थीहरुलाई हिडाइएको थियो । नारा : बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी । कोही भन्दैथे बालबालिका काँचो माटो, हक अधिकार यीनैलाई छ खाँचो, यस्तै यस्तै ……. ।
आमाले कपालको जुम्रा दुईनङ्को बीचमा पारेर मार्दै भन्नुभयो – “हक , अधिकार , खुसी र सुख सबै हुने खानेका छोरछोरीलाई हो । हेर ! बाबु जसले जे गरेनि वास्ता नगरेस् तर तँ पढ्न चाहीँ पढ् । ”
“ह्या ! आमा पनि म जान्न के स्कुल न राम्रो लुगा छ न झोला गतिलो छ न मेरा कोहि साथी बन्छन् । म एक जान्न दुई जान्न, तीन जान्न । रुपक एक्कासि रुन थाल्यो ।”
आमाले रुपकको टाउको छात्तीमा टास्ँदै भन्छिन – “म गिट्टी कुटेरै भए नि तिम्रा सबै रहर पूरा गर्ने कोशिस गराैँला । तर तिमीले राम्रोसँग पढ्नुपर्छ । यो हक अधिकार भन्ने कुरा नारामा मात्रै हो । तिमी मान्छे बन्न तिमी नै मिहिनेत गर्नुपर्छ ।”
यति सुनेपछि रुपकले आमाको आँखामा हेर्दै भन्छ- “हुन्छ आमा म हजुरले भने जस्तै छोरो बन्ने छु । आमा म पढेर, धेरै धनी भएर अहिले म जस्तै दु:ख पाएका हरुलाई सहयोग गर्ने छु ।”





