अधिकार

112

शान्ता तिम्सिना
भक्तपुर

“पहिला भाँडा माझ, अनि मात्र विद्यालय जानु” आमाले रिसाउँदै भनिन् । ” म विद्यालय जान्छु ,भरे आएर माझ्छु नि आमा !” उसले डराउदै भनी ।
” हेर – हेर! यसलाई लाज नभएको, आमासँग मुखमुखै पो लाग्छे त! खुरुक्क माझ् अनि जानू ,नत्र जान पर्दैन , तैँले पढेर के लछारपाटो लगाउँछेस् ? धर्तीको बोझ ” आमाको आक्रोस पोखियो ।
बिचरा ! प्रतिकार गर्न सकिन , त्यसैले छिटो छिटो सकेर विद्यालय पुगेकी थिई । सदा जस्तै आज पनि पहिलो घन्टी सकिएको थियो । डराउँदै डराउँदै ऊ ढोकामा उभिएकी थिई ।
शिक्षकको ठूलो आवाजले डराएर रुँदै थिई । त्यही समयमा बिद्यालय निरीक्षक आइपुगे । रोइरहेकी विद्यार्थीको छेउमा गए । “के भयो ? किन रोएकी नानी ? ” निरीक्षकले सोधे । ऊ शिर निहुराएर रोइरही , ” यसले सधैँ ढिलो आउने गर्छे र गृहकार्य पनि गर्दिन ” शिक्षकले भने ।
“बच्चाको वास्तविक समस्या बुझ्न पर्यो नि सर ! बच्चालाई गाली गरेर , पिटेर समस्याको सामाधान हुन्छ र ? यो त बाल अधिकारको हनन् भएन ? ” निरीक्षककले भने ।निरीक्षकले बच्चाको वास्तविक समस्या पत्ता लगाए ।
बाबा -आमा दुबै नभएपछि सौतेनी आमाको व्यबहारले आजित थिई , ऊ ।
उनी बच्चाको घरमा गएर आमालाई सम्झाए । बच्चाको खेल्ने , खाने , हिँड्ने , बोल्ने, विद्यालय गएर पढ्ने र माया पाउने अधिकार हुन्छ भन्दै बाल अधिकारका बारेमा बुझाए ।
आमाले लामो श्वास फेर्दै भनिन् – ” बल्ल हजुरले मेरो आँखा खोलिदिनु भयो , अब कहिल्यै पनि बाल अधिकार हनन् गर्दिन “, छोरीलाई अँगालोमा च्याप्दै भनिन् ।