
खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
सञ्चै भएर पनि निलले भात खान मानेन। विकल्पमा रोटी दिँदा पनि वास्ता गरेन। खाना खाएनौ भने उसले हेरिरहेको टिभी बन्द गरिने भन्दा पनि नसुनेझैँ गर्यो। आमा, हजुर आामा र हजुरबुबाले पालैपालो नाँचेर,हाँसेर र कुखुरी काँ को अभिनय गरेर खुवाउने प्रयासमा पनि हात लाग्यो शून्य भयो । निलले सबैलाई जितेको भाव देखायो । अन्तिममा उसलाई पढाउने शिक्षिका सवितालाई फोन गरेझैं गरेर भनियो ,यहाँ निलले खाना खानु भएको छैन भन्दा उसले भन्यो, “खाना खान्छु नि, बाबुले खाना खायो भन्दिनु।” यताबाट आउन परेन। निलले खाना खाइसक्नु भनियो। यत्तिकैमा सँगै पढ्ने किरण आइन। त्यसैले उनलाई निलका हजुर बाबुले सोधे, ” हाम्रो बाबुले किन बुबुमाम खाँदैन ?” उनलेे भनिन् ,” चाहिने भन्दा बढी माया गर्नु हुन्छ । अनि कसरी खान्छ त निलले।” हजुरबुबाले फेरि सोधे ,” सविता मिसको नाम लिएपछि खान्छ किन होला?” उनलेे भनिन् ,” उहाँले सबैलाई बराबरी मात्रै होइन चाहिने भन्दा बढी माया गर्नु हुँदैन नि।”





