अन्तिम साउन

मचिन्द्र खत्री

छैन कालो हट्यो मैलो
घाम लागे बिहानै यो
हाँस्न लागे यतै फूल
माहुरीका आए हूल।।१

खुल्न लागे पखेराका
रूप नौला रमाएर
चढ्न लागे लता नौला
वृक्ष हाँगा समाएर।।२

छैन खोलो यता क्रोधी
शान्ति आयो रसाएर
नील गङ्‌गा भयो प्यारो
तीर आफ्ना हँसाएर।।३

धान लागे खुशी छर्दै
खेत सारा सजाएर
वायु चल्दा सँगै नाच्दै
शीत बाजा बजाएर।।४

आज लेखेँ यता मैले
साउने यो कुरा सानो
गोड होला खेत राम्रो
फल्छ गोड्दा एक मानो।।५