
शोभा कोइराला
साताे लिएर धरती पहिले गलायो
गर्मी भएर अति नै रमिता गरायो
यो बाध्यता किन भयो कसले बनायो
बर्सादको समयमा अझ ताप छायो।
बाटो लिई प्रकृतिले जहिले हिँडेको
आगो पिएर धरती पहिले जिएको
बर्साद याे जल लिईकन आउँदैछ
आएँ म साउन भनीकन धाउँदैछ।
बर्साद आगमनमा मन यो रमाओस्
आफ्ना प्रभाव जति छन् उसले बचाओस्
बिर्साउँदै बिगतको परिताप सम्झी
त्यो उग्रता कहरको अधिकार धम्की।
वैलिन्छ पात लहरा अति ताप पाई
फैलिन्छ बोट बिरुवा अति शीत खाई
यो चक्रधर्म जसरी वसुधा बुझाऊन्
फेरिन्छ रीति ऋतुको जसरी उदाऊन्।
निस्सासिँदै पशुहरू बलहीन बन्छन्
ग्रीष्मर्तुको भय हुँदा जलहीन बन्छन्
पीडा परे पनि धरा कहिल्यै रुँदैन
तात्पर्य खास नबुझेर हुँदै हुँदैन।





