“अन्नदाता असार”

शान्ति सिग्देल

उड्दा उड्दै विहग बचरा तापले झर्न थाले
यो धर्तीका सकल लतिका रापले मर्न थाले
टाढा बस्दा यस बखतमा दुख्छ हाम्रो हियार
बर्सी आऊ अब जल लिई अन्नदाता असार।

सारा धर्ती मरुसरि भई फुट्न थाले पखेरी
रुन्छे पन्छी धुरुधुरु उता व्योममा मात्र हेरी
चर्को गर्मी सहन नसकी सृष्टिले मान्छ हार
बर्सी आऊ अब जल लिई अन्नदाता असार।

खोलाखोली वन चउरमा छैन हावा चलेको
बाटाघाटा वरपर छझैँ लाग्छ आगो बलेको
वर्षा रानी अब त यसरी कष्ट धेरै नपार
बर्सी आऊ अब जल लिई अन्नदाता असार।

उम्लेका छन् भकभक नदी पोखरी ताल सारा
खोलाभित्रै जलचरहरू खोज्न थाले सहारा
खप्दै तातो वरपर सुके पुष्प थुङ्गा हजार
बर्सी आऊ अब जल लिई अन्नदाता असार।

पाडा बाच्छा मृग हरिण यी प्यास नै प्यासमा छन्
चौतारीका वर पिपल यी शीतको आसमा छन्
दर्की आजै सबतिर बहोस् सिर्जनाको वहार
बर्सी आऊ अब जल लिई अन्नदाता असार।