योग दिवसका अवसरमा

मुकुन्द शर्मा
कार्यमा कुशल बन्नुपर्दछ
जिन्दगी सरल चुन्नुपर्दछ
वृद्ध बालक तथा युवाजन !
योगको गर अवश्य धारण ।।
स्वस्थ सुन्दर बनाउँदै तन
उच्च सुस्थिर बनाउने मन
हुन्छ खायस भने छिटो गर
योगतर्फ भइहाल तत्पर ।।
खूब चञ्चल हुँदा दशेन्द्रिय
धारणा भइरहन्छ अप्रिय
आउँछन् विविध दुष्ट कल्पना
हुन्छ भार जिउनै सयौँ गुना ।।
मानवीय रचना मनोरम
सृष्टिमा अधिक उत्तमोत्तम
योगले अझ बढाउँदै छटा
नास्नुपर्छ मनको तमोघटा ।।
हातपाउ मुख नाक कानमा
नेत्रमा अनि अरू तमाममा
गर्नुपर्छ जहिल्यै विचारणा
तामसी चिज गरी निवारणा ।।
प्यास भोक अनि नीद ठिक्क होस्
सुत्नु उठ्नु अनि हिँड्नु ठिक्क होस्
बोल्नु मौन हुनु होस् व्यवस्थित
बन्छ जीवन उसै सुगन्धित ।।
सोच सुन्दर भनाइ सुन्दर
दृष्टि सुन्दर गराइ सुन्दर
आज सुन्दर भविष्य सुन्दर
बन्छ जीवन अवश्य सुन्दर ।।
आउँछन् विविध दैनिकी कथा
आउ जाउ व्यवहारका प्रथा
तारतम्य यिनमा मिलाउनु
जिन्दगीभरि रमाइलो हुनु ।।
शीत झर्दछ वसन्त फुल्दछ
ग्रीष्म चढ्दछ र वृष्टि झर्दछ
बन्छ मग्मग शरद् उसैगरी
फेरि आउँछ तुषारको झरी ।।
सृष्टिका विविध रङ्गमा पनि
एकनाससित चल्छ मेदिनी
यो लिएर उपमा स्वयंसित
बन्नुपर्छ अब योगमा रत ।।
लाभहानि सुखदुःख आउँछन्
अन्धकार र प्रकाश घुम्दछन्
बन्दछन् विषमता मनोरम
योगमा जुन रहन्छ कायम ।।
कर्मको चयन शुद्ध बन्दछ
भित्र मानव प्रबुद्ध बन्दछ
ज्योति खुल्छ उसमा अकम्पित
जीवनी अनि सधैँ समुन्नत ।।





