अविस्मरणीय चटपटे


रोजिना घिमिरे

मेटाउँदैछु यो संसारबाट सबै चटपटा स्वादहरू, जुन मेरा लागि कहिलेकाहीँ साथी बनेर आउँछन्, कहिले शत्रु। खासगरी, त्यो दिनको कुरा गर्दा, मेरो मनमा अझै पनि एउटा उग्र र मीठो जलनको स्वाद छ। त्यो गर्मीको प्रचण्ड दिन थियो, जब सूर्यले पनि आफ्नो पूरै शक्ति लगाएर तापिरहेको थियो। म विद्यालयबाट फर्किँदै थिएँ, थाकेको र भोको। सडकको एक कुनामा एउटा सानो ठेला देखियो, जहाँ चटपटे बेच्ने दाइले ठूलो स्वरमा ग्राहकलाई बोलाइरहेका थिए।
मेरो पेटमा चटपटेको नाम सुन्ने बित्तिकै एउटा अनौठो खुसीको लहर दौडियो। मैले केही दिनदेखि चटपटे खाएको थिइनँ, र त्यो दिनको गर्मीले मेरो भोकलाई अझ बढाइदिएको थियो। ठेला नजिकै पुग्दा, चटपटेको तीखो गन्ध मेरो नाकभित्र पस्यो र मलाई झनै लोभ्यायो।
“दाइ, एउटा चटपटे बनाइदिनु न, तर बाबा मम्मीलाई चाहिँ नभन्दिनु है?” मैले भनेँ, मेरो बाबा मम्मी पनि सोही विद्यालयमा पढाउनुहुन्थ्यो, उहाँहरु पनि घर फर्किँदै हुनुहुन्थ्यो। के गरौँ नखाऊँ भने चटपटे देख्ने बित्तिकै मेरो मुखमा पानी भरिँदै थियो।
उनले मुस्कुराउँदै एउटा ठूलो कचौरा लिए र एकपछि अर्को सामग्री हाल्न थाले—भुजा, आलु, प्याज, चना, काँक्रो, खुर्सानीको पेस्ट, कागतीको रस, धनियाँ… सबै कुरा देख्दा मलाई लाग्यो, यो चटपटे स्वर्गबाट झरेको भोजन हो। जब उनले अन्तिममा अलिकति अमिलो र पिरो मसला हालेर चटपटेलाई राम्ररी मोले, त्यो क्षण मेरा लागि अविस्मरणीय थियो।
मैले पहिलो चम्चा मुखमा हाल्ने बित्तिकै, मेरो मुखमा अनेकौँ स्वादहरूको सङ्गम भयो। पहिलो त तीतो, त्यसपछि अमिलो, अनि नुनिलो, र अन्तिममा यस्तो पिरो कि मेरो आँखाबाट आँसु नै निस्कियो। तर त्यो पीडामा पनि एउटा अनौठो सन्तुष्टि थियो। मैले चटपटे खाँदै गर्दा, मेरो दिमागमा विद्यालय, भोलिका लागि गर्नुपर्ने गृहकार्यको तनाव, गर्मीको पीडा, र सबै चिन्ताहरू हराउँदै गए। म त्यो क्षणमा मात्र थिएँ, त्यो चटपटेको स्वादमा पूर्ण रूपमा डुबेको।
चटपटेको आधा भाग खाँदासम्म, मेरो मुख पुरै तातो भइसकेको थियो, र मैले आफ्नो वरिपरिको दुनियाँलाई बिर्सेको थिएँ। ठेला छेउमा अरू मानिसहरू पनि चटपटेको मजा लिँदै थिए, तर मलाई अरू कसैको वास्ता थिएन। म र मेरो चटपटे मात्र थियौँ।
जब मैले पूरै चटपटे खाइसकेँ, मेरो मुख र जिब्रोमा एउटा असह्य जलन भयो। मैले तत्कालै पानीको बोतल निकालेर कलकल पिएँ, तर जलन कम भएन। मलाई लाग्यो, मेरो मुखमा आगो लागेको छ। त्यो पीडाले गर्दा मलाई पछुतो भयो, किन यति धेरै पिरो चटपटे खाएँ भनेर।
तर, घर पुग्दा पनि त्यो चटपटेको स्वाद मेरो दिमागबाट हटेन। रातभर मलाई पेट दुख्ने र बान्ता हुने समस्या भयो। त्यो रात मेरो जीवनको सबैभन्दा लामो र पीडादायी रात थियो। मेरो बाबामम्मीले मलाई छटपटाएको देख्नुभयो। उहाँहरू आत्तिँदै म भएका ठाउँमा आउनुभयो, के भयो भनेर सोध्नुभयो। सुरुमा त मैले ढाँटें, ‘पेट दुखेको मात्रै हो’ भनेर। तर जब मैले बान्ता गर्न थालें, तब उहाँहरूले बुझ्नुभयो कि मैले केही बाहिरको चिज खाएको थिएँ। मम्मीले मायाँले सोध्नुभयो, “बाबु, के खाएका थियौँ तिमीले? स्कुलबाट आउँदा केही बाहिरको चिज खाएका थियौँ?” म डराउँदै लुकाएको कुरा भन्न बाध्य भएँ—”चटपटे।” बाबाले रिसले हेर्नुभयो, “मैले कति पटक भनेको छु, बाहिरको नखाऊ भनेर! हेर त, कस्तो बिरामी भयौ?” मम्मीले मलाई पानी खुवाउँदै पेटमा हात राखेर मुसारिदिनुभयो। त्यसपछि उहाँहरूले मलाई अस्पताल लैजानुभयो।
बिहान उठ्दा मलाई लाग्यो, चटपटे त स्वादिलो थियो, तर त्यसले मलाई दिएको पीडाले मलाई झनै सम्झना भयो।
त्यो दिनदेखि मैले चटपटे खान छोडिदिएँ। आज पनि जब म त्यो चटपटेको ठेला देख्छु, मेरो मनमा त्यो पीडादायी रातको सम्झना आउँछ। चटपटेको स्वाद त लोभलाग्दो थियो, तर त्यसले दिएको पीडाले मलाई जीवनको एउटा महत्त्वपूर्ण पाठ सिकायो—सबै स्वादिलो कुरा हाम्रो लागि राम्रो हुँदैन।
तर पनि, कहिलेकाहीँ जब म एक्लो हुन्छु र मेरो मनमा केही नयाँ अनुभव गर्ने इच्छा हुन्छ, मलाई त्यो चटपटेको स्वादको याद आउँछ। सायद त्यो पीडा नै मलाई त्यो चटपटेको सम्झना गराउने कारण हो। चटपटे खाँदाको त्यो दिन, मेरो जीवनको एउटा अमूल्य पाठ बन्यो—स्वाद र पीडाको सङ्गम।