असार पन्ध्रको मौलिकता

नेपालीको मुख्य खाद्यान्न बाली धानको रोपाइँ हुने महिनाका रूपमा असारको आफ्नै महत्व र विशेषता छ । किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ।
विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ । यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा झन्डै दुई दशक अघिदेखि आधिकारिक रूपमा मान्यता दिइएको हो।
असार १५ मा हुने धान रोपाइँ र लोक लयमा आधारित हुने असारे भाकालाई नेपालका मौलिक संस्कृतिका रूपमा लिइन्छ । सांस्कृतिक महत्व बोकेको असारे भाका हिजोआज गाउँघर लेकबँेसीमा निकै कम गुञ्जिन थालेका छन् । अर्कोतिर रैथाने नेपाली धानका बीउजस्तै लोप हुने क्रममा छन् । यी मौलिक संस्कृति तथा भाकालाई लोप हुन नदिन सरकारी तथा जनस्तरबाट इमानदार प्रयत्नको खाँचो देखिन्छ।
यसैगरी, असार १५ को अर्को विशेषता दही चिउरा खाने हो जुन अद्यापि प्रचलनमा नै छ । सायद खानपिनको विषय भएकाले हुनसक्छ, यो लोप हुने खासै चिन्ता गरिहाल्नुपर्ने अवस्था देखिँदैन । खेतको हिलोमा नटेके पनि सहरी क्षेत्रका नागरिकले समेत दही चिउरा खाएर १५ असारको पर्व मनाउँछन्।
असार १५ लाई उन्नाइस वर्षअघिदेखि नै सरकारी तवरमा राष्ट्रिय धान दिवसमा रूपमा मनाइने गरिएबाट यसको महत्व तथा गरिमा स्पष्ट हुन्छ । राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान अन्य खाद्यान्न बालीको दाँजोमा निकै अग्रपङ्क्तिमा रहेकाले पनि यसको विकास तथा संवद्र्धनमा प्राथमिकता दिइनु आवश्यक छ । कृषिप्रधान मुलुक तथा राष्ट्रिय धान दिवस देशव्यापी रूपमा मनाइने भए पनि यस दिवसका केही कटु सत्य पनि नदेखिएका होइनन् । केही वर्षअघिसम्म पनि धान चामल निर्यात गर्ने राष्ट्र नेपाल अहिले बर्सेनि अर्बौं रुपियाँ बराबरको धान चामल आयात गर्नुपर्ने स्थितिमा छ।
धान चामलमा आत्मनिर्भरताका कुरा यतिबेला कथाजस्तै लाग्छ । धान चामलमा आत्मनिर्भर बन्न सरकारले विशेष नीति नै अख्तियार गर्नुपर्छ । यो ज्यादै दुःखद तथा विडम्बनापूर्ण स्थिति हो । यसबाहेक हाम्रा रैथाने जातका धान क्रमशः लोप हुँदै गइरहेका छन् । बासमतीजस्ता उन्नत जातका धानमा विदेशीले आँखा गाडिरहेको अवस्था छ । यसको संरक्षणतर्फ पहलकदमी लिइनुपर्छ।
असार १५ लाई राष्ट्रिय धान दिवस वा सांस्कृतिक महत्वका दिनको उपमा दिएर मात्र सरकार वा अन्यको दायित्व पूरा हुने देखिँदैन । यसका लागि रचनात्मक वातावरण निर्माण गरेर यससम्बन्धी सम्भावनाका ढोका खोल्ने काम गरिनु पर्छ । यसतर्फ अब ढिला भइसकेको छ । राष्ट्रिय धान दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभए जस्तै नेपाली रैथाने धानका जात तथा बीउ संरक्षण, संवद्र्धन र प्रवद्र्धन अत्यावश्यक भइसकेको छ । यसका लागि सरकारले पर्याप्त अवसर तथा वातावरण जुटाइदिन कुनै कसर बाँकी राख्नु हुँदैन । नेपालको संविधानले नै खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेका कारण पनि धानजस्ता प्रमुख अन्नबालीको संरक्षण तथा प्रवद्र्धन पनि सरकारी प्राथमिकतामा निश्चित रूपमा पर्नुपर्ने देखिन्छ।
मलखाद, उन्नत बीउ बिजन, सिँचाइ सुविधा तथा आधुनिक कृषि उपकरण तथा सरकारी सहुलियतको उपलब्धता सम्भव भएमा अझै पनि मुलुक धानजस्ता प्रमुख अन्नबालीमा आत्मनिर्भरताको बाटोमा अग्रसर हुने सम्भावना छ । किनकि, हामीसँग उब्जनीयोग्य भूमि छ, परम्परा ज्ञान मात्र होइन आधुनिक सीप र प्रविधि पनि भित्रिएको छ । बर्सेनि अर्बौं रुपियाँको धान चामल आयात गर्नुभन्दा केही किसानलाई सहुलियत प्रदान गर्न सकिए खाद्यान्न बालीतर्फको आत्मनिर्भरता धेरै टाढाको विषय होइन।
यसका लागि समयमै मल उपलब्ध गराएर किसानलाई धान खेती गर्नेतर्फ प्रेरित गर्नुपर्छ । यसका लागि जमिन बाँझो नराख्ने अभियान नै चलाइनुपर्छ । खुसीको चेहेरा लिएर किसान असारे हिलोमा प्रवेश गर्ने वातावरण बन्ने हो भने मात्र धानको उत्पादन वृद्धि भई किसानको भकारी भरिनेछ । किसानको भकारी भरिनु भनेको राष्ट्रको भकारी भरिनु हो । यसो भए पर्वको मौलिकता मात्र कायम रहने नभई दही चिउरा खाएर १५ असार मनाउनुको सार्थकता हुनेछ।

श्रोतः गोरखापत्र