
घनश्याम रेग्मी
असार लाग्यो असारे भाका गाउँला भनेको
मनको कुरा मनमै रह्यो भनौँला भनेको।
असार लाग्यो भनेर सानी निकै नै खुसी छन्
रोपाइँ गर्न पाएको भए झन् खुसी हुँदी हुन्।
दर्केर आयो असारे झरी खै के के गरायो
पुरानो कुरा खेतीको काम सम्झना गरायो।
धानको बीउ उखेली ठिक्क पारेर पहिले
त्यो भोलिपल्ट रोपेको याद आउँछ अहिले।
हलो र जुवा काँधमा बोकी फाँटमा झरेको
हल गोरु नारी त्यो हिलो खिप्दै रोपाइँ गरेको।
आलीमा बसी खाजाको रोटी खाएको सम्झन्छु
असारे गाउँथे रोपार्नीहरू त्यो कहाँ बिर्सन्छु।
असारे वर्षा कहर ल्यायो मेलम्ची बगायो
गण्डकी पनि उर्लेर आयो किनारा डुबायो।
तिनाउ नदी उस्तै छ आज बिलौँना गरायो
हे प्रभु तिम्रो के लीला यस्तो विरह बढायो।





