आगोको खेल


युगल बसेल
सन्धिखर्क

लिलु र नारन एकदमै मिल्ने साथी हुन् । लिलुको जिस्काउने नाम ट्युटरे हो भने नारनलाई साथीभाइहरूले
फाँके भनेर जिस्काउने गर्छन् । एकजना बाहुन र अर्को दलित परिवारका भए पनि यी दुई जनाले दुवै परिवारबाट
असाध्यै माया पाउने गरेका छन । एउटा घरमा मिठोचोखो खानेकुरा पाक्दा वा फलफुल पाक्दा यी दुवै जनाको
मुखमा नपरी छाड्दैन।

छुट्टीको दिनमा दिनभरिजस्तै र अरू दिन बिहान साँझ दुवै जना कहिले आफ्नो त कहिले साथीको आँगनमा
खेल्ने गर्छन् । कहिले भाँडाकुटी त कहिले खर्ल्याङखुट्टी र कहिले गट्टा खेल्ने गर्छन्। त्यस्तै राज्य (भुइँमा
कोरेका कोठा आफ्नो पार्ने खेल ) धुलेबाजी, गुच्चा, चुङ्गी डन्डीबियो ,भकुन्डो, क्रिकेट पनि खेल्ने गर्छन्। एक्लै
मोबाइलमा खेलेर समय कटाउने नराम्रो बानी उनीहरूको छैन ।
दुवैजना बदमासी गर्ने खालका छैनन् । बिगार, बिजाईँ , उधुम ,उल्का गर्ने उनीहरूको खराब बानी छैन। त्यसैले
उनीहरूका बाबाआमा दुवै जनालाई खेल्न छोडिदिएर ढुक्कसँग आफ्ना काममा जाने गर्नुहुन्छ । काम सकेर फर्की
आउँदा उनीहरूलाई ढुनुमुनु खेलिरहेको देखेर बाबाआमा खुसी हुने गर्नुहुन्छ।

एकपटक छुट्टीको दिन थियो। दुवै जनालाई आँगनमा खेल्न छोडिदिएर नारनका बाबाआमा गाईभैंसीका लागि
घाँस लिन भनेर खरबारीतिर जानुभयो। नारन र लिलु खेल्दै खेल्दै घरको तगारो पार गरेर डोहोतिर पुगे। डोहोको
डिलमा गाईभैँसीले घाँस खाएर बाँकी रहेका घस्यौटाहरु थुपारिएका थिए । ती घस्यौटाहरू राम्ररी सुकिसकेका
थिए। तिनै घसौटाहरू रसेटोमा बालेर नारनका बाबाआमाले गाईभैँसीका लागि कुँडो / खोले पकाउने गर्नुहुन्थ्यो।
त्यसरी कुँडो पकाउँदाको आगो नारनले चासो दिएर हेर्ने गर्थ्यो।
ती झिजामिजाको थुप्रो देखेपछि नारनलाई रसेटोमा दनदन बल्ने आगोको सम्झना भयो। उसले जोसिँदै
भन्यो – “आज हामी आगो बाल्ने खेल खेलौँ है ।”

लिलुले पनि खुसी हुँदै “हुन्छ हुन्छ खेलौँ । जाऊ , भित्रबाट सलाइ लिएर आऊ ।” भन्यो ।
नारनले खोपामा उसकी आमाले सलाइ राख्ने गरेको ख्याल गरेको थियो। भित्र गएर उसले खोपामा चियायो ।
सलाइ आज पनि त्यहीँ थियो । तर खोपो भन्दा आफू अलि होचो भएकोले उसको हात त्यहाँसम्म पुग्न सकेन
। यताउति नजर दौडाउँदा उसले त्यहाँ खाली बाल्टिन देख्यो । त्यही बाल्टिन घोप्टाएर चढेपछि उसले सलाइ
भेट्याउन सक्यो । त्यो सलाइ लिएर खुसी हुँदै ऊ लिलुछेउ पुग्यो । नारनको हातमा सलाइ देखेर लिलु पनि
हस्कियो , रमायो । लिलुले झासझुस बटुल्यो र सलाई कोरेर घस्यौटाको थुप्रो नजिकै आगो सल्कायो। अनि दुवै
जनाले त्यसमा झिँजामिजा थप्दै गए। आगो ह्वार ह्वार बलेको देखेर दुवै जना रमाए अनि ताली ठोके।

बिस्तारै आगो घसौटाको थुप्रोतिर सर्दै गयो । अनि त्यसले ठूलो रूप लिएर दन्किन थाल्यो। कालो धुवाँको
मुस्लो धेरै माथिसम्म पुग्यो। लिलु र नारनलेले यति डरलाग्दो आगोको लपेटा कहिल्यै देखेका थिएनन् ।
आगोको ज्वालाका लप्का माथिमाथिसम्म र पर परसम्म पुगे । नजिकैको परालको टौवा पनि आगोको लप्काले
भेट्ने हो कि भन्ने डर भयो । टौवामा पनि आगो सल्कने हो भने नारनको घर कटेरो मात्र होइन गाउँ नै डढेर
सखाप हुन सक्थ्यो l त्यस ठूलो नोक्सानको अन्दाजा कलिला ती दुई केटाले लगाउन सक्थे र ! तर पनि
घस्यौटाहरू चटचट गर्दै बडेमानको आगो बलेको ज्वाला र धुवाँको मुस्लो देख्दा दुवै अत्तालिए । अब के गर्ने
भन्ने बारेमा उनीहरूको सुझबुझले काम गरेन।

नारनका बाबा कुटमेरोको रुखमा चढेर डाले घाँस काट्दै हुनुहुन्थ्यो। त्यो बडेमानको ठूलो धुवाँको मुस्लो देखेर
उहाँको मनमा तर्सो पस्यो । हत्तपत्त रुखबाट ओर्लिएर “गुहार गुहार !” भन्दै बाबा दगुर्दै आउनुभयो । उहाँले
गुहार मागेको सुनेर छरछिमेकीहरू पनि लौ आगोले बित्यास पार्न लागेछ भन्दै दगुरेर आए। सबैले आआफ्नो
घरबाट पानी भरेका गाग्रीहरू लिएर आए र आगोमाथि हुर्र्‍याए । कसैले कोदालोले खन्दै धुलो माटो निकालेर
आगोमा खन्याए। कसैले भने आगोको लप्कालाई स्याउलाले झ्याप झ्याप हान्न थाले । सबैको जोडबलले गर्दा
एकैछिनमा आगो निभ्यो ।

आगो निभेपछि त्यहाँका मानिसहरूले यो बिठाइँ कसले गरेको हो भनेर प्रश्न गर्न लागे। सायद उनीहरूको मनले
नारन र लिलुलाई नै खोटी देखिरहेको थियो। बाबाले भने कुरो अन्तै मोड्दै भन्नुभयो – “सायद कसैले चुरोटको
ठुटो ननिभाई घस्यौटामा फ्याँकेका कारणले यो उल्का हुन गएको हो।”
बावाले भनेको कुरा अरूलाई पनि हो जस्तो लाग्यो l केही बेरपछि सबैजना अआफ्नो घर घर गए। सबैजना
गइसकेपछि बुबाले घरभित्र पसेर खोपामा राखिने सलाइ त्यहीँ छ कि छैन भनेर नियाल्नुभयो । त्यहाँ सलाइ
नदेखेपछि यो करामत यिनै दुईजनाको हो भन्ने कुरा उहाँले सजिलै लख काट्नुभयो । आगो निभे पनि दुबैको
अनुहारमा पछुतो र सजाएको डरको छाप निभेको थिएन । त्यो छाप पनि बुवाले सजिलै पढ्नुभयो।
बुबाले सबैका सामु उनीहरू तिर औलो देखाएर दोष लगाउनुभएको भए कति जनाको खप्की खानुपर्थ्यो । तर
बुबाले कुखुराले चल्लो ओतेझैँ गरेर ओत्नुभएकोले उनीहरूले बाबाको ठूलो गुन मानेका थिए । बाबाले
छिमेकीहरूसित गरेको कुरा जति घतालाग्दो लागे पनि उहाँसँग नजर जुधाउन भने दुवैले सकेका थिएनन्।

बाबा दुवै जनाको नजिकै पुग्नुभयो । उनीहरूको टाउको मुसार्दै उहाँले सम्झाउनुभयो – “बाबुहरूहो, आगोको यस्तो
खेल अब आइन्दा कहिले नखेल है । आज झन्डै आगोले गाउँ नै सखाप पारेको थियो । हुनत खाना पकाउन र
न्यानो ताप्नका लागि आगो हामीलाई नभई नहुने मित्रु हो । तर यससित खेलबाड गर्‍यो भने यो सबैभन्दा
ठूलो शत्रु पनि हो।”

अब कति कुटाइ खानुपर्ने हो भनेर तर्सिएका केटाहरू त्यसरी बाबाको मायालु बोली र हातको मसारमुसुर पाउँदा
ज्यादै खुसी भए । ठूलो आपत टरेको उनीहरूले महसुस गरे। ओइलाएको उनीहरूको अनुहार फेरि फुलजस्तै ताजा
भयो। अब कहिल्यै पनि आगोको खेल नखेल्ने कसम दुवैले खाए।