
शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०
“के भयो बाबु ? उदास देखिन्छौ त !” मन्दिर अगाडिको एउटा फलैँचामा निराश मुद्रामा बसिरहको एउटा केटोलाई देखेर मन्दिरका पुजारीले सोधे।
बैरागी जस्तो देखिने त्यो केटोले भन्यो, “बाबा ! म अत्यन्त निराश छु । जीवन देखि हारिसकेँ , म असफल छु।”
“कारण के हो त ? दुर्व्यसन वा प्रेममा धोखा ?” पुजारीले जिज्ञासा राखे ।
“त्यस्तो केही होइन, बाबा । म आफ्नो काममा पोख्त छु , कसैलाई हानिनोक्सानी पुर्याउने काम गर्दिनँ तैपनि मानिसहरु मेरो खेदो गर्छन् । बाधा अडचन तेर्साउँछन् । मेरो चित्त दुख्छ।” उसले भन्यो ।
“भयो ! मैले कुरा बुझेँ । तिम्रो प्रगतिमा मानिसहरु जल्दा रहेछन् । यसको अर्थ तिमी सफल छौ। मानिसहरु अरुको प्रगति देख्न चाहन्नन्। खुट्टा तेर्साउनेहरु हुन्छन् , तिमीले सबैलाई पन्छाएर अगाडि बढन सक्नु पर्छ।” पुजारीले भने ।
पुजारीको कुराले ऊ सन्तुष्ट देखिएन । घोइरिएर बसिरह्यो । पुजारीले अगाडि भन्दै गए। तिमीलाई म एउटा नीतिकथा भन्छु, तिमी आफैँ बुझ। एउटा जुनकिरी थियो। त्यो चमचम चम्किँदै उडिरहेको थियो। त्यसलाई देखेर सर्पले खेदेको खेदै गर्यो। जुनकिरी ज्यान बचाएर एउटा रुखको पातमा बस्यो र सर्पलाई भन्यो, “म तिम्रो आहारा होइन तर तिमी मलाई किन खेदिरहेका छौ ?”
प्रत्युत्तरमा सर्पले भन्यो , ” मलाई मेरो अगाडि कोही चम्केर हिँडेको मन पर्दैन।”
यसपटक पुजारीको कुराले सायद उसको मन छोयो। ऊ हँसिलो देखियो र त्यहाँ बाट उठेर गयो।





