
पशुपति पौडेल
एक सानो गाउँमा रामबहादुर नामका किसान बस्थे। उनी दिनभर खेतमा काम गर्थे र चाहन्थे कि उनका छोरा–छोरीले पनि सधैँ पढाइमै ध्यान दिउन्। तर उनका छोरा सन्देश पढाइभन्दा चित्र बनाउन धेरै मन पराउँथे।
रामबहादुरले सधैँ भन्न्थे, “चित्र बनाएर के हुन्छ? पढाइमा ध्यान देऊ!”
सन्देश चुपचाप बस्थे। उनलाई चित्र बनाउन मन भए पनि बाबुको डरले आफ्नो प्रतिभा लुकाउन थाले।
एकदिन गाउँमा चित्रकला प्रतियोगिता भयो। शिक्षकले सन्देशलाई पनि भाग लिन भने। सन्देशले डराउँदै बाबुलाई सोधे। सुरुमा रामबहादुर रिसाए, तर शिक्षकले भने, “हरेक बच्चामा फरक प्रतिभा हुन्छ। अभिभावकले त्यसलाई बुझ्नुपर्छ।”
रामबहादुरले अनुमति दिए। सन्देशले मन लगाएर चित्र बनाए र पहिलो पुरस्कार जिते। जब रामबहादुरले सबैले आफ्नो छोराको प्रशंसा गरेको सुने, तब उनलाई आफ्नो गल्ती महसुस भयो।
उनी सन्देशलाई अँगालो हाल्दै भने, “मलाई माफ गर छोरा। मैले तिम्रो मन बुझ्न सकिनँ। अबदेखि म तिमीलाई साथ दिनेछु।”
त्यस दिनपछि रामबहादुरले आफ्ना बच्चाको कुरा ध्यान दिएर सुन्न थाले। सन्देशले पनि अझ मेहनत गरेर आफ्नो सपना पूरा गर्ने बाटो पायो।
हरेक बच्चा फरक हुन्छ। अभिभावकले उनीहरूको रुचि, भावना र सपना बुझेर साथ दिए भने बच्चाहरू अझ आत्मविश्वासी र सफल बन्छन्।





