
होम सुवेदी
सानो रमेश आठ वर्षको भयो, तर उसको अनुहारमा त्यो उमेरका अरू बालबालिकाको जस्ताे चमक थिएन। उसको आँखामा प्रश्न थिए, तर उत्तर दिने कोही थिएन। स्कुल जान भनेपछि नौनारी गलेर आएजस्ताे गर्थ्याे । के गराेस् बिचरा आमाका कर्कस स्वरबाट विवश भएर स्कुल जान्थ्याे।
बाबुकाे टुहुराे ऊ आमासँगै हुर्किएको थियो, तर आमाको माया भने कहिल्यै पाएन। आमा झर्किने, रिसाउने, गाली गर्ने स्वभावकी थिइन् । कहिल्यै काँधमा बोकेर हिँडिनन्, न त निदाउने बेला पारेर काखमा राखेर सुनाइन् कुनै राजकुमारको कथा। उनका लागि रमेश केवल एउटा जिम्मेवारी जस्तो लाग्थ्यो— खाना खुवाउनु, लुगा लगाइदिनु, स्कुल पठाइदिनु वस् । तर आमाबाट त्यो मायालु स्पर्श, त्यो स्नेहिल मुस्कान उसले खोजिरह्यो अलिक जान्ने भएपछि ।
स्कूलमा अरू बालबालिकाहरू आमाको हात समाएर आउने दृश्यले उसको मन गह्रौँ हुन्थ्यो। उसले पनि एउटी मायालु आमा कल्पना गर्थ्यो , जसले हरेक चोटमा सुम्सुम्याउँथिन्, जसले “मेरो बाबु” भन्दै काखमा टाँस्थिन्।
एक दिन शिक्षिकाले रमेशलाई सोधिन् “रमेश, तिमीलाई सबैभन्दा धेरै के चाहिन्छ ?”
ऊ केही समय मौन रह्यो, अनि बिस्तारै भन्यो — “मलाई एउटी आमा चाहिन्छ मिस… जसले मलाई माया गरून्।”
उसका कुरा सुनेर शिक्षिका स्तब्ध भइन्।
त्यो दिनदेखि रमेशलाई केवल पढाइ मात्र होइन, माया पनि मिल्न थाल्यो– त्याे कक्षाबाट। भाेलिपल्टदेखि घरमा भन्दा स्कुलतिर जान हतारिन थाल्याे ।





