
जानकी कर्माचार्य
हरिसिध्दि, लतितपुर
आज शुक्रवार स्कूलबाट छिट्टै फर्किए आमाले “बारीमा कोदो गोडने खेतला छन, म भ्याउदिन भाइलाइ खुवाउनुछ , खाजा पुर्याएर आउनु ” भनेर अह्राउनु भयो। शुरुमा आनाकनी गरे पछि नगै सुक्खै पाइन।
खाजाको झोला हल्लाउँदै बारीतिर झरेँ। आमाले त भन्दै हुनुहुन्थ्यो “साउन भदौको महिना कति खेर पानी पर्छ थाहा हुन्न छाता लैजा ।” म आफैँ जान्ने सुन्ने भएकी नटेरीकन हिंडे नभन्दै पानीले आफ्नो करामत देखाउन थाल्यो। रुखको आडमा ओत लागे र आमालाई सम्झिएँ, आफैँ सँग रिस उठ्यो आमाको कुरा मानेको भए मेरो के जन्थ्यो र ?
अचेल म अलि अटेरी भएकी छु , आमाले अह्राउनु भएको काम प्रायजसो आल टल गर्छु। अनि आमाले भन्नु हुन्थ्यो “अर्काको घर गए पछि सासुले विहेको भोलिपल्टै फर्काई दिन्छिन् अनि थाहा पाउलिस ।” सायद उमेरले पनि होला आफू जति जान्ने सुन्ने र राम्ररी कोहि छैन जस्तो लाग्छ । त्यसैले ऐना पनि खुब हेर्छु ओर्कीफर्की … । बल्ल पानी रोकियो अनि हतार हतार दौडिएँ। दुई ठाउँमा त माछा पनि मारे लुगा भरि हिलो लाग्यो फेरि आमाको गाली खाने भएँ। खेतलाहरु भोकाएर खाजा कुरेका रहेछन् , उनीहरुको अनुहार हेर्दा केही गल्ती महशुस भयो तर केही नभनी खाजा दिएँ। उनीहरु हात धोई खाजा खान थाले।
म एकछिन उनीहरुले खाएको हेरे अनि यता उता गर्न थालेँ। आमाले खाजाको भाँडो लिएर आउनु अह्राउनु भएको छ।
उनीहरु फेरि कोदो गोडन थाले छन। मलाई पनि गोडन मनलाग्यो अनि यसो छोएको मात्र के थिएँ , हातमा काटी हाल्यो रगत नै बग्यो साह्रै दु:ख्यो । ती खेतला आमैले त भन्दैथिन “न छुनु नानी यसको पातले काट्छ, साह्रै पो दु:खछ।” मन परे अर्काको कुरा नसुन्ने आफैँ जन्नेसुन्ने हुनु पर्ने । काटेको धर्को अलि लामै थियो ती आमैले बनमाराको मुन्टा निचोरेर झोल लगाइदिन। तर झनै चर्यायो। मेरो अनुहारको पीडा देखेर होला ” अहिले दु:खे पनि यसले छिट्टै बिसेक हुन्छ नानी ” भनेर सम्झाइन। मलाई भने रिस उठी राखेको थियो।
यसो हेरे ती आमैको पाखुरा पनि रक्ताम्मे थियो। उनलाई कति दुःख्यो होला उनको अनुहार हेरेँ। त्यहाँ कुनै पीडा र दुखाइ थिएन । म छक्क पर्दै सोधेँ ” तपाईँको त कति घाउ रहेछ दुखेन ?”
उनले हाँस्दै भनिन् ” हमीलाई त बानी परिसकेको छ नानी। ”
तै पनि फेरि भनेँ” अनि पुरा बाहुला भएको नच्यातेको लुगा किन नलगाएको त ? पानी पनि परेको छ अनि लुगा भने पर घुम मुनि रख्नु भएको छ ?”
ती आमैले उज्यालो अनुहार पार्दै भनिन्” यो घाउ त भरे यसो बेसार तेल लगाए पछि निको भै हल्छ, लुगा त च्यातिए पछि कहाँ किन्नु पैसा चाहियो नि ।”
घरमा आमाले कुरा गर्ने बेलामा सुनेकी थिएँ “खेतालाहरुलाई ज्याला दिनु पर्छ ” अनि यी आमै पैसा छैन भन्छिन् , “ज्यालाको पैसा आईहाल्छ नि त ?”
तिनले फेरि हाँस्दै भनिन, “त्यो त पैसा लिने हैन , अन्न लिने। त्यो पनि धान। केटाकेटीले अघाउजी चामलको भात खान नपाएको कति भयो ।” त्यति भन्दा उनको अनुहार उज्यालो भएको थियो।
तिनको कुराले म झसँग भएर आमालाई सम्झिए। आमाले हामी सबैलाई खुवाएर अन्तिममा आफू थोरै त्यो पनि डढेको खानु हुन्थ्यो। किन यस्तो खाने भन्दा यस्तै मन पर्छ भन्नु हुन्थ्यो ……… म चुपचाप झोला बोकेर हिंडेँ।





