इज्जत


विवेक शर्मा गौतम
टोखा-३ काठमाडौं

थकित भएर पनि किन्न सकेनन्।
छोराको विवाहको लागि कपडा किन्न बा र छोरा ठूलो महल भित्रको एउटा पसलमा पसे। “राम्रो सँग हेर बाबु ! कुन कपडा तिम्रो मनले खान्छ” बाले भने।
छोराले कपडाको ऱ्याकमा आँखा लगाउँदै गयो।
“सुटको लागि त्यो थान झिक्नु त साउजी” छोराले भन्यो।
साउजीले चार थान सुटकपडा झिकेर लस्करै टेबुलमा राखिदिए। छोराले बल्टाई पल्टाई हेरेपछि कम्पनी, ब्राण्ड र मूल्य सोध्यो। मूल्य अनुसारको कपडा राम्रो लाग्यो । मन मनै हुनेवाला सासु ससुरा साला साली जेठानहरूले के भन्लान् भन्ने सोच्यो । “राख्नु साहुजी मन त परेको छ के गर्ने ?“ भन्दै बाउछोरा बाहिर निस्के ।
“पुनःआउनुहोला तपाईँलाई मन पर्ने कपडा आउॅन सक्छन्” साउजीले भने ।
बाउछोरा फेरी नजिकै अर्को पसलमा पसे । साउजी “त्यो कपडा हेरौँ त” भने । त्यसैबेला “राम्रो कपडा रहेछ ” बाले भने। त्यसलाई निकैबेर हेरे पछि घरतिरका जन्तीहरूले मनपराउँने हुन वा होइनन् भन्ने दोधार भयो।
त्यहाँबाट पनि अहिले आउँछौ भनेर निस्किए । कपडा नलिएकोमा साउजीले भित्रभित्रै मन दुखाए तर केहि भन्न सकेनन्।
फेरि अर्को ठूलो पसल भित्र छिरे। त्यहाँ पनि छोरालाई मन परेको पाॅच थान कपडा निकाल्न लगाए। त्यहाँ पनि मन त थियो तर किनेनन्। त्यो पसलका साउजीले निकै रिसाएर भने “नलिनुहोस् तपाई जस्ता ग्राहक अर्कोपटक मेरो पसलमा छिर्नु पर्दैन।”
बाउछोराले मन गह्रौँ पारेर बाहिर निस्के। एवं तरिकाले बाउछोरा आठ दशवटा कपडा पसलहरूमा पसे। छोरालाई मन पर्ने कपडा छुट्‌याउन मुस्किल भयो। “हाम्रो हुर्मत हराएकै हो त ?” धेरै मान्छेहरु लत्ताकपडा किनमेलमेल गर्दा अनिर्णयको बन्दी हुन्छन्। हामी पनि त्यहि समूहमा पऱ्यौँ“ बाले भने।
छोराका पछि लागेर हिंड्दा बा का खुट्टामा जलजलाउॅदा फोका उठे। थकित भए। बा खोच्याएर हिड्न थाले । बाले भने “होइन कपडा कस्लाई चाहिएको हो र ? यदि अरुका लागि हो भने किन छानी छानी राम्रो किन्नु पर्ने त ?“ अनेकौँ पसलमा धेरै थान कपडा हेरिस् मन पराएर पनि छान्न र किन्न सकिनस् किन ?”
छोराले बा को प्रश्नको उत्तर दिँदै भन्यो “ मैले त मेरो जीउमा पहिरीने पहिरन मात्र हो। मैले लगाउने वस्त्र मलाई हेर्नेहरूका आँखाको इज्जतको लागि हो ।”