
गजल आचार्य
कक्षा-६,श्री बुढानिलकण्ठ आवासीय मावि,
गोलबजार-४, सिरहा
“सर, आज किन कक्षा यति रमाइलो लाग्यो ?” मैले झस्केर सोध्दा उहाँ हत्तपत्त हाँस्नुभयो, “किनकि आज तपाईँहरूबाट म पनि सिक्दैछु नि, बाबुनानी !” कक्षा हँसिलो भयो । गुरुले किताब खोलेर होइन, हाम्रो अनुहार हेर्दै सुरु गर्नुभयो- “आज कसको जिज्ञासा ठूलो छ ?” पछाडिबाट मनिषा उठी, “सर, किन केही शिक्षकहरू कहिल्यै खुसी देखिन्नन् ?” एकछिन रोकिए, गुरुले मार्करका सहायताले बोर्डमा एउटा ठूूलो घाम बनाउनुभयो। “अध्यापन त्यो घामजस्तै हो,” उहाँले भन्नुभयो, “जसले आफैँ उज्यालो नभई कसलाई उज्यालो दिने ?” मैले लजाउँदै भनेँ, “तर गुरु, केहीले त हामीलाई पिट्छन्…” गुरुको स्वर नरम तर दृढ भयो, “पढाउन नसक्नुको पीडा कहिलेकाहीँ कठोरतामा झर्छ, तर असल शिक्षक शक्ति होइन, सम्भावना देख्छ । कमजोरलाई राम्रो, राम्रोलाई उत्कृष्ट बनाउँदै लान्छ ।” कक्षा एकाएक स्तब्ध भयो । सरले अन्तिम वाक्य फ्याँक्नुभयो- “बाबुनानीहरू, हृदय उज्यालो पार्न सक्ने शक्ति शिक्षकले तपाईँहरूबाटै लिन्छन् ।”





