“ऋतुचर्या”


आत्माराम न्यौपाने

वासन्ती बोटको माथि पुष्प देखेर आउँछिन्
`म आफैँ टिप्छु त्यो भन्दै´ मलाई बोक्न लाउँछिन् ।१

गर्मी ग्रीष्मर्तुमा बाँसे-पङ्खा बोकेर हातमा
`हम्किनू झट्ट यो´ भन्दै मलाई नै अह्राउँछिन् ।२

वर्षामा गाउँ बस्तीमा बाटो धेरै हिलो हुँदा
`चिप्लिई नलडूँ´ भन्दै मेरै हात समाउँछिन् ।३

शरद्का पितृ कार्जेमा देवीका स्तुति गानमा
मेरै छेउ बसी जम्मै धर्मकर्म सघाउँछिन् ।४

ठन्डा हेमन्तमा उस्तै चाहन्छिन् अझ टाँसिन
`छाड्दिनुस् यी रुई फुई´ भन्दै एक्लै कराउँछिन् ।५

झन् त्यो शिशिरमा हावा बेस्सरी जब चल्दछ
पछ्यौरी हातमै बोकी सिङ्गो ज्यानै थमाउँछिन् ।६

`छ ओटै ऋतुमा हुन्छ्यौ प्रेमीकै साथमा तिमी ?´
सखाको प्रश्न यो सुन्दा लाजले मुस्कुराउँछिन् ।७