कर्मको फल

सुरेन उप्रेती
पाँचथर हाल क्यानडा

कुशलहरूको परिवार ठूलो थियो । शहरमै बस्ने भए पनि बुबाआमा, काकाकाकी, ठूलोबुबा ठूलोआमा, र हजुरबा हजुरआमा एउटै घरमा बस्थे । भान्सा एउटै थियो । हजुरबाआमाका काखमा लुट्पुटिँदै नानीहरू हुर्कन्थे । घरमा हजुरबालाई भेट्न मान्छेहरू आई रहन्थे । ती आएका मानिसहरूले चकलेट, बिस्कुट, मिश्री जस्ता खानेकुरा ल्याएका हुन्थे । हजुरबा आमालाई ल्याइ दिएको भए पनि खाने भनेको नातिनातिना नै हुन्थे । सबै केटाकेटीहरू घरमा आउने पाहुनालाई भेट्दा नमस्कार गर्थे । हजुरलाई कस्तो छ भनेर सोद्थे । आफ्नो नाम सुनाउँथे । घरमा आएका पाहुँनाको नाम सोद्दथे । पाहुनाहरू पनि कती शीलस्वभाव भएका केटाकेटीहरू भनेर प्रसंशा गर्थे ।
हजुरबालाई भेट्न आएका मान्छेहरूसँग हजुरबा उहिले उहिलेका कुराहरू सुनाउनु हुन्थ्यो । ती मान्छेहरू हजुरबाका कुराहरू  ध्यान पूर्वक सुन्थे । कहिले काठमाण्डौ उपत्यका कस्तो थियो भनेर चर्चा हुन्थ्यो । कहिले लक्ष्मिप्रसाद देवकोटा कस्ता थिए भनेर चर्चा हुन्थ्यो । राणाहरू र राजाहरूका कुरा हुन्थे । छेउमा बसेर कुरा सुन्दासुन्दै कुशललाई काठमाण्डौको ईतिहाँस नै थाहा भयो । ठूलामानिसहरूसँग बसेर कुरा सुन्दासुन्दै विद्यालयका शिक्षक शिक्षिकासँग बोल्न कती पनि अप्ठ्यो भएन । ठूलो परिवारमा हुर्किकाले साथीहरूसँग घुलमिल हुन पनि उसलाई धेरै सहज भयो ।
कुशल हजुरआमासँग पनि तेती नै नजिक थियो । बेलुकाको खाना खाए पछि सबै केटाकेटीले हजुरआमालाई घेरा हालेर बस्थे । हजुरआमाका कथा सुन्नलाई हतारहतार खाना खाएर बैठक कोठामा भेला हुन्थे । हजुरआमा ख्वाक्क ख्वाक्क गरेर घाँटी सफा गरेर कथा भन्नु हुन्थ्यो । हरिश्चन्द्र राजाका कथा भन्नु हुन्थ्यो । बसुदेव, देवकी र कृष्णका कथा सुनाउँनु हुन्थ्यो । पाँच पाण्डवका कथाहरू सुनाउनु हुन्थ्यो । श्रवणकुमार भन्ने बालकले आँखा नदेख्ने अन्धा बा आमालाई बोकेर हिँडेको। टाढा गएर कुवाबाट पानी ल्याएर बाआमालाई नुहाई दिएका जस्ता कथाहरू सुनाउनु हुन्थ्यो।
ती कथाहरूमा कसैले अती नै दुःख पाएका हुन्थे । कसैले अरूलाई दुःख दिएका पनि हुन्थे । कोही सारै अशल मानिसहरू पनि हुन्थे । निर्दोष मानिसहरूले दुःखपाएको कथा सुन्दा कुशल र अरू केटाकेटीहरू पनि दुखी बन्थे । किन ती निर्दोषले दुःख पाएका होलान हजुरआमा भनेर प्रश्न गर्दथे । यो सबै आफ्नो कर्मको फल हो । ती दुख दिनेहरूलाई धेरैजेल राम्रो हुँदैन । ती दुःखपाउनेहरूको पनि धेरै दिन दुःख रहँदैन । भनेर हजुरआमाले कथा सुनाउने कार्यक्रम बन्द गर्नु हुन्थ्यो । सबै केटाकेटीहरू सुत्न जान्थे । कुशल पनि सुत्न जान्थ्यो तर निन्द्रा भने पटक्कै आउँदैन थियो ।
अर्को दिन स्कुलमा नेपाली पढाउने शिक्षकलाई कुशलले सोध्यो । सर कर्मको फल भनेको के हो भनेर । कक्षाका सबै केटाकेटीहरू पनि कुशलको प्रश्न सुनेर शान्त भए । शिक्षकले अलिबेर सोचेर भन्नु भयो । कर्म भनेको काम हो । फल भनेको कामको परिणाम हो । यसलाई अझ सजिलो गरी भन्छु है त । तिमीहरूले जसले कक्षामा ध्यानपूर्वक सुन्छौ मेहनत गरेर पढ्छौ । त्यो तिमीहरूले गरेको कर्म हो । राम्रो पढेपछि परीक्षामा सबै जानेको कुरा आउँछ । तिमीहरूले राम्ररी लेख्न सक्छौ । अब त्यस पढ्ने लेख्ने कामको फल धेरै नम्वर ल्याएर पास हुन्छौ । राम्रो पढेमा धेरै राम्रो मार्क आउँछ । नपढ्नेलाई पासमार्क पनि आउँदैन । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ ।
यो चैँ कुरा पढाइको भयो । अब व्यवहारको कुरा गरौँ । तिमीले कसैलाई राम्रोसँग बोलाउँछौ । आदरपूर्वक बोलाउँछौ भने उसले पनि राम्रो व्यवहार गर्छ । तर नराम्रोसँग गाली गरेर बोलायो भने रिसाउँछ । नबोली हिँड्छ या त उसले पनि गाली गर्न शुरू गर्छ । समाजमा पनि सबैलाई राम्रो गर्ने मान्छेलाई सबैले माया गर्छन् , आदर गर्छन् । तर अरूलाई दुःख दिने मानिसलाई कसैले पनि मन पराउँदैनन् । उसले दुःख पाउँछ । त्यो उसको कर्मको फल हो । जुन सुकै काम गर्दा पनि मेहनत गरेर गर्यो भने त्यसको परिणाम पनि राम्रो हुन्छ ।  पढ्दा, लेख्दा खेल्दा, काम गर्दा, अरूसँग व्यवहार गर्दा जस्तो गरिन्छ । त्यसको फल पनि कर्म अनुसारकै हुन्छ । काम अनुसारकै फल पाइन्छ । आफु भन्दा ठूला मान्यजनहरूलाई बुबा आमाहरूलाई आदर पूर्वक नमस्कार गर्ने । उहाँहरूले भनेको कुरा सुन्ने गर्यो भने सबैले माया गर्नु हुन्छ । हामी अशल मान्छे बन्न सक्छौँ । शिक्षकका कुरा सुनेपछि सबैले राम्रो कर्म गरेर फल पनि राम्रो पाउने अठोट गरे ।