सरिता पराजुली
चन्द्रागिरि -१५,काठमाडाैं
बिहानीकाे मिर्मिरेमा काेइलीकाे गीत
गीतसँगै रम्याे मन बस्याे माया प्रीत
उज्यालाेले धर्तीलाई अङ्कमाल गर्याे
अन्धकार आफैँ हटी पर पर सर्याे।
गुँडबाट काेइलीकाे मिठाे मिठाे धून
आकासमा बाँकी थिए अझै तारा जून
शिशिरले उजाडेकाे मेराे वन पाखा
काेइलीकाे धूनसँगै जुर्मुरायाे आहा!
ऋतुराज वसन्तकाे थियाे ढलिमली
बृक्षका ती हाँगाभरि पालुवा मञ्जरी
भीर पाखा गुराँसकाे आफ्नै थियाे कथा
वैभवशाली प्रकृतिकाे अगम छ जेथा।
काेइलीकाे मिठाे बाेली बासुरीकाे धून
त्यस्ताे मन कसकाे हाेला सक्दैनन् यी छुन?
साना साना गुँडबाट कुहूँ कुहूँ गर्दै
गीत गाउँछे सानी चरी मन सबकाे हर्दै ।